तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दसैँमा पनि निरन्तरता दिइएको छ । दसैँ सुरु भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो ।
दसैँको टीकाको दिनबाहेक अन्य सबै दिन काम नरोकिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिए । “आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउनका लागि कामको गति बढाएका छौँ”, उनले भने, “दसैँमा पनि काम रोकिँदैन ।”
दसैँको मुख्य दिन टीकाको दिनमा नेपाली कामदारलाई बिदा दिइए पनि चिनियाँ मजदुर र अन्य केही नेपाली कामदारको सहभागितामा काम चलिरहने उनले बताए । “न्यूनतम कामदारबाट टीकाको दिनमा पनि काम हुन्छ”, सिल्पकारले भने, “आयोजनालाई समयमै सम्पन्न गराउनेतर्फ गम्भीर भएर लागिपरेका छौँ ।”
यतिबेला आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ)को काम चलिरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । प्याकेज दुईअन्तर्गतको विद्युत्गृह खन्ने काम सकिएको छ । आयोजना प्रमुख सिल्पकरका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।
सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।
आयोजनाअन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार ४५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म ३५० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्र्याक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।
प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि २५ वटा टावर सम्पन्न भएको छ । त्यस्तै हालसम्म ४८ वटा फाउण्डेशनको कार्य सम्पन्न भएको छ । यो प्याकेजको काम भारतीय कम्पनी केइसीले पाएको छ ।
प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भू–भाग प्राप्ति गर्नका लागि मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण हुनेछ ।
आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |