धादिङ,०२ कात्तिक।
धादिङमा पछिल्लो २४ घण्टामा ५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । थप ३५ जना पुरुष र २० जना महिला गरी कुल ५५ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यो सँगै जिल्लामा कुल संक्रमित १ हजार ४८६ पुगेको छ।
योसँगै हालसम्म जिल्लाका ८२३ जना पुरुष र ६६३ महिला गरी कुल १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् ।
नगरपालिकामा हालसम्म ८९३ जना संक्रमित भएका छन् भने गजुरीमा १०६, धुनिबेशीमा ६७ र त्रिपुरासुन्दरीमा ६४ जनामा संक्रमण भएको छ। यस्तै ज्वालामुखीमा ६४, गल्छीमा ४८, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३४, गंगाजमुनामा २१, थाक्रेमा १७,नेत्रावती डवजोङमा १० , रुवीभ्यालीमा ९ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ।
कसरी सर्छ डेंगु ?
डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो ।डेंगु भाईरसको चार प्रजाति छन् ।
एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदी अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४–७ दिन भित्र मा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८–१२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ ।
पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ। भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४–२१ दिनको जीवनमा जम्मा ३०० वटा अण्डा पार्न सक्छ ।
एकपटक डेँगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुका विषाणु सार्ने गर्दछ ।त्यस प्रकारका हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेँगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति यो रोग बाट सँक्रमित हुन्छ ।
डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरु लामखुट्टेमा सर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगुका लक्षणहरु देखिन सक्छन् वा कुनै खाले संक्रमण नदेखिन पनि सक्दछन् । संक्रमित व्यक्तिबाट एक हप्तापछि लामखुट्टेले एउटा स्वस्थ मानिसलाई रोग सार्न सक्दछ ।
लक्षणहरु
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५–७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :
– असाध्यै टाउको दुख्ने ।
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
– ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
– शरीरमा विमिरा आउने ।
– धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ ।
– वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ ।
रक्तश्रावको खतरा हुने अवस्थाहरु
– लामो समयसम्म वेहोस भएमा
– जलवियोजन र वेहोस भएमा
– कलेजोमा खराबी उत्पन्न भएका
– दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा
– ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा
– रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा
– शरीरमा कुनै प्रकारको चोटपटक लागेमा
रोकथामका उपायहरु
– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ
– पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ ।
– कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |