धादिङ,०४ कात्तिक।
धादिङमा डेङ्गुको बिरामीको सँख्या १६ सय नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ५० जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । थप २४ जना पुरुष र २६ जना महिला गरी कुल ५० जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यो सँगै जिल्लामा कुल संक्रमित १ हजार ५९४ पुगेको छ।
योसँगै हालसम्म जिल्लाका ८७७ जना पुरुष र ७१७ महिला गरी कुल १ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् ।
नगरपालिकामा हालसम्म ९५८ जना संक्रमित भएका छन् भने गजुरीमा १०६, धुनिबेशीमा ७३, गल्छीमा ६८,त्रिपुरासुन्दरीमा ६८ जनामा संक्रमण भएको छ। यस्तै ज्वालामुखीमा ६५, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३८, गंगाजमुनामा २७, थाक्रेमा १७,नेत्रावती डवजोङमा १२ , रुवीभ्यालीमा ९ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ।
कसरी सर्छ डेंगु ?
डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो ।डेंगु भाईरसको चार प्रजाति छन् ।
एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदी अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४–७ दिन भित्र मा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८–१२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ ।
पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ। भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४–२१ दिनको जीवनमा जम्मा ३०० वटा अण्डा पार्न सक्छ ।
एकपटक डेँगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुका विषाणु सार्ने गर्दछ ।त्यस प्रकारका हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेँगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति यो रोग बाट सँक्रमित हुन्छ ।
डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरु लामखुट्टेमा सर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगुका लक्षणहरु देखिन सक्छन् वा कुनै खाले संक्रमण नदेखिन पनि सक्दछन् । संक्रमित व्यक्तिबाट एक हप्तापछि लामखुट्टेले एउटा स्वस्थ मानिसलाई रोग सार्न सक्दछ ।
लक्षणहरु
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५–७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :
– असाध्यै टाउको दुख्ने ।
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
– ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
– शरीरमा विमिरा आउने ।
– धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ ।
– वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ ।
रक्तश्रावको खतरा हुने अवस्थाहरु
– लामो समयसम्म वेहोस भएमा
– जलवियोजन र वेहोस भएमा
– कलेजोमा खराबी उत्पन्न भएका
– दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा
– ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा
– रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा
– शरीरमा कुनै प्रकारको चोटपटक लागेमा
रोकथामका उपायहरु
– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ
– पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ ।
– कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |