हरि शरण जम्कटेल
धादिङ।
‘पढेर फस्ट हुनु,डाक्टर बन्नु –इन्जिनियर बन्नु, ठूलो मान्छे बन्नु, कहिल्यै दुःख नहोस्।, दीर्घायु होस, हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नझरोस्, कुनै रोग व्याधि नलागोस् … !’
हामिले अग्रजहरु बाट यस्ता आशीर्वाद सँधै नै पाएका छौ। अग्रजलाई नमस्कार गर्ने, ढोग्ने, आदर गर्ने, सम्मान गर्ने र उहाहरु बाट शुभ आशीर्वाद ग्रहण गर्ने हाम्रो परम्परा हो । यो थिति प्रति मेरो पूर्ण सम्मान छ।
‘पढेर फस्ट हुनु !’ शायद यो हामी सबैको समाजमा सर्वाधिक प्रयोग हुने आशीर्वाद हो । यसमा , “पढ्नेहरू सबै प्रथम हुनुपर्दछ“ भन्ने अतिवादी सोच लुकेको प्रष्ट पाइन्छ ।कोही पनि मानिस पढ्ने भनेकै प्रथम हुनका लागि हो भन्ने भाव यसमा लुकेको देखिन्छ ।
पढाईमा प्रथम हुनु मात्रै शिक्षा हो त ? दोश्रो हुनु, तेश्रो हुनु या सामान्य अंकका साथ पास हुनु भनेको आशीर्वादको मापदण्ड भित्र नपर्नु हो त ? अझ भनिन्छ फलानो प्रथम भयो, त्यो बाट सिकेस्, तैँले उ झै मिहिनेत गर्न सक्दैनस् ? भनेर तुलना गरिन्छ ।
यस्ता आशीर्वादले प्रथम हुनेहरु बाहेक अरूमा तनाव सिर्जना गरिदिन्छ । म कमजोर छु, असक्षम छु भन्ने मानसिकताको विकास गरिदिन्छ । यसैले हामीले यो भाष्यलाई फेर्नुपर्छ कि ?
“डाक्टर बनेस् , इन्जिनियर बनेस् ” भन्ने आशीर्वाद अर्को प्रसिद्ध आशीर्वाद हो। यसले फेरि छुट्टै मापदण्ड निर्माण गरेको छ ‘राम्रो गतिलो मान्छे हुनु भनेकै डाक्टर हुनु हो इन्जिनियर हुनु हो!’
हरेक वर्ष केहि सय थान विद्यार्थीहरू डाक्टर, केही सय थान विद्यार्थीहरू इन्जिनियर बनेर निस्कन्छन् । तर लाखौं लाख विद्यार्थी, अग्रजहरूले आशीर्वाद दिए झै डाक्टर बन्न सक्दैनन्, इन्जिनियर बन्न सक्दैनन् वा भनौँ बन्नै चाहन्नन्।
उनीहरूका लागि त यो आशीर्वाद एउटा ठुलो भारी अर्थात बोझ शिवाय केही होइन । कलिलो उमेर देखि नै बालबालिकाहरूलाई हामीले किन यस्तो ठुलो बोझ बोकाइरहेका छौ?
अर्को आशीर्वाद, ‘ठूलो मान्छे बनेस्’ ले छुट्टै मापदण्डमा खडा गरेको छ। पढेर प्रथम हुने; डाक्टर हुने अथवा इन्जिनियर हुने भनेकै ठूलो मान्छे बन्नका लागि हो । मान्छे भनेको ठूलै मान्छे हुनु पर्दछ; सामान्य मान्छे हुनुको कुनै तुक छैन ।
शिक्षक, अन्य पेशा, किसान, भरिया, विपन्न, कमजोर र पछाडि परेका मानिस सामान्यतया ‘ठूला मान्छे’ को लिस्टमा अट्दैनन् । हामी कहाँ ‘ठूला मान्छे’ भन्नासाथ आर्थिक रूपले सर्व सम्पन्न, जातीय हिसाबले उच्च कुलको, सत्ता र शक्तिको वरिपरि रहेको, धेरै शिक्षा आर्जन गरेको, अरूलाई नियन्त्रण –परिचालन गर्न सक्ने क्षमता भएको मानिस भन्ने बुझ्छौ।
यि खालका मानिस आफूले आफूलाई अरु भन्दा माथि / ठुलो ठान्दछन् । हरेक खालको स्रोत र साधन उनीहरूकै नियन्त्रणमा हुने गर्दछ। आफ्नो निजी फाइदाको लागि श्रोत र साधनको उपयोग वा दुरुपयोग गर्न पनि पछि पर्दैनन् ।
यसरी हेर्दा ‘ठूला मान्छे’ असल मान्छेभन्दा आधारभूत रूपमा भिन्न देखिन्छन् । ‘ठूला मान्छे’ मा असल मान्छेमा जस्तो नैतिकता, आदर्श, इमानदारी, सदाचार, विवेक आदि नभए पनि खासै फरक पर्दैन ।
हामिले दिने आशीर्वादले असल मान्छे भन्दा पनि सामन्ती सोचयुक्त ‘ठूला मान्छे’ निर्माणमा योगदान पुगेको पो छ कि ? यसकै फलस्वरुप ठूला भनिएका मानिस शोषक र शासक बन्ने अनि आम मानिस शोषित र शासित बन्नुपर्ने अवस्थाले निरन्तरता पाइरहेको पो हो कि देशमा ?
अहिले भनिएको विभेदीकरण, असमानता र शोषणमा कतै हाम्रा यस्तै परम्पराको योगदान त छैन ? यस प्रकारका ठूला मान्छे बन्ने – बनाउने स्वार्थले गर्दा समाजमा अनाचार र धनी – गरीब बीचको खाडल बढाएको त हैन ?
‘कहिल्यै दुःख नपरोस्’ भन्ने आशिष अर्को काल्पनिक संसार हो । सुख र दुःख मानिसका फगत कल्पना हुन् ।यस्तो आशिष किन दिनु जुन कुनै पनि हालतमा सम्भव छैन । किनकि हामीलाई थाहा छ, सुख र दुःख जीवनका अभिन्न अंग हुन् । यसको सट्टा मानिसलाई दुःखको सामना गर्ने, दुःखबाट सिक्ने र दुःखलाई सुखमा बदल्ने शक्ति प्राप्त होस् भनेर आशिष दिइनु बढी बुद्धिमानी हुन्छ कि ?
आशीर्वादको नाममा लुकेका अशान्ति र दुःखका कारक पक्षहरूलाई समयमै चिनेर त्यसमा समय अनुसार परिवर्तन गर्ने हो भने मात्र हामीले नयाँ शान्ति संस्कृतिको विकास गर्न सक्छौँ ।
निधारभरि अक्षता टाँसेर अक्षताकै सङ्ख्यामा आशीर्वाद र आशिषको खोलो बगाउने चाड दशैँ नजिकै आउँदैछ ।टीका र जमराको तयारी गर्दै गर्दा दशैँका आशिषलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक तुल्याउने बारे पनि केही सोच्न थाल्नु सान्दर्भिक नै हुनेछ ।
यसपालिको दशैँमा विशेषतः बालबालिकालाई यस्तो आशिष दिँदा कसो होला : धेरै पढेर असल र ज्ञानी मान्छे बन्नु, सरस्वती सधैँ दाइना रहून् ; लक्ष्मीले साथ दिउन् ; दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु; सबैको कामलाई सम्मान गर्नु; सबैलाई समान व्यवहार गर्नु; दुःखीको सेवा र गरीब लाई सहयोग गर्नु; आफूभन्दा सानालाई स्नेह गर्नु र ठूलालाई आदर – सत्कार; जति बाँच्छौं हाँसेर – हँसाएर बाँच्नु । दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् !!! शुभकामना !!!
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |