हो, उनी त्यही हेडसर ! नौ बर्षअघि शिक्षा दिवशको अवशरमा सम्मान पाउने हेडसर । आज सुन्दरबस्तीको सुन्दर मा. बि. को परिसरमा रहेको पिपलको फेदमुनि भदौरे घामबाट बच्न सिरसिर हावामा आनन्द लिइरहेका छन् मानौ कि उनी अर्कै संसारमा छन् । विद्यालयको यूनिफर्ममा सजिएर कुर्सीमा अढेस लगाई बसेका सुन्दरबस्ती निवासी उनलाइ मैले बाहिरी चर्मचक्षुबाट मात्र चिनेको थिएँ । उनको नाम थियो–मुकुन्द रेग्मी ।
धेरै बर्षपछि आज म मेरो गाउँको स्कूलमा प्रवेश गर्न खोज्दैछु । म सुन्दरबस्तीको एक बासिन्दा तर जन्मथलो सुन्दरबस्ती भएपनि मेरो कर्मथलो भने पोखरा शहर भयो । पेशाले म एक शिक्षक । विद्यार्थीहरुसँग हास्दै,खेल्दै र ज्ञान छर्दै लगभग बीस वर्ष बिताएँ । यस अवधिमा कयौँ विद्धानहरु उत्पादन गरेँ ,यसैमा गर्भ लाग्छ र ।
यस अवधिमा कयौँ मुर्खहरु पनि उत्पादन गरेँ होला अनजानमा । विद्यार्थीहरुसँग सधैँभरी कुरा गरिरहुँ र उनीहरुका कुराहरु सुनिरहुँ जस्तो लाग्छ । केही दिन अघिमात्र यू.एस.ए पुगेर पढिरहेको सुन्दर मा. बि.को एक विद्यार्थी र पछि मेरो विद्यार्थी बन्न आएको आगमनले म्यासेन्जरबाट फोन गरेर भन्यो –“सर !
मैले त फूल स्कलरसिपमा पढ्ने अवसर पाएँ, यो हजुरकै सफलता हो सर । ह्याप्पी टिचरर्स डे सर ।” सबैलाई उज्यालो किरण छर्ने, माझीरुपी शिक्षकको लागि यो भन्दा ठूलो खुशी के नै हुन सक्छ र ? म जहाँको त्यही रहेपनि भित्रभित्र हर्षबिभोर भएर रिप्लाई फर्काए–“बधाई छ बाबु ! उज्ज्वल भविष्यको कामना ! थ्याङक्यू ।”
मेरो जीवनमा एउटा शिक्षक बन्नु पनि ठूलो सफलता थियो । म हुन त कक्षामा अब्बल दर्जाको विद्यार्थी थिएँ । तर म भन्दा पनि कमजोर साथीहरु कोही डाक्टर,कोही इन्जिनियर त कोही प्रोफेसर बनेका छन् मेरो देशमा । तर मलाई भने मेरो सफलतामा गर्भ लाग्छ किनकी एस.एल.सी. उत्तीर्ण गर्नको लागि पनि मलाई घरायसी वातावरण उचित प्रकारको थिएन ।
बिहान घाँसको भारी बिसाएर हत्तनपत्त गाँडमा खाना लिएर दौडदै जानुपर्यो । बेलुका आएर फेरी एकभारी घाँस नकाटे बेलुका माड लगाउन पाइदैनथ्यो । विगतमा मेरो सामुदायिक स्कूलमा शिक्षक दरबन्दीको अभाब थियो, भौतिक संरचनाको अभाब थियो र पनि मैले एस.एल.सी.मा सेकन्ड डिभिजन ल्याएर पास गरे र स्नातकोत्तर सम्मको अध्ययन गर्न पनि सफल भएँ ।
विगतमा विद्यामान अन्य अभाबै अभाबको बिचमा पनि मेरो सामुदायिक स्कूलले प्रगती गरेको बिशेष गरी हेडसरको लगन साथसासाथै बि. व्य. स. को अनुगमन.,मेहनती शिक्षकहरु, मेहनती र अनुशासित विद्यार्थी,चिन्तनशिल अभिभाबक, समाज र अन्य धेरै पक्षको देन हो ।
स्कूलको गेटमा पुगे । गेट खुल्ला थियो । बाहिरबाट हेर्दा स्कूल हाता सफा नै थियो । स्कूल गेटको बाहिरबाट नै दायाँपट्टी ठूलो फुटबल ग्राउण्ड देखिन्थ्यो । ग्राउण्डको दायाँ बास्केटबल कोट थियो । चारवटा ठूला भवनहरु जहाँ ब्लक ए, ब्लक बी, ब्लक सी, ब्लक डी लेखिएको गेटबाट नै प्रष्ट देखिन्थ्यो । कम्प्यूटर ल्याब लेखिएको कोठा पनि देखिन्थ्यो । म उभिएको ठाउँबाट कक्षाकोठामा रहेको ह्वाइट बोर्ड,चिल्लो र सेतो डेस्कबेन्च प्रष्ट देखिन्थ्यो ।
सायद त्यो समय टिफिन टाइम थियो कि ? विद्यार्थीहरु खेलमा मस्त थिए । हुटिङ लगाउने विद्यार्थीहरु पनि साइडमा धेरै नै थिए । भौतिक संरचनाको अभाब नरहेको,टिफिनको समयमा पनि यस्तो राम्रोसँग फूटबल, बास्केटबल खेलिरहेको देखेर म भित्र–भित्र हर्षबिभोर भएँ । मनमनै सोचे – मेरो सामुदायिक स्कूल पनि भौतिक संरचनामा धेरै धनी छ ।
तीनवटा सरकारको लगानी कति हो कति !!! नजिकै रहेको फूटबल दर्शक बिद्यार्थीसँग केही जानकारी लिने मनशायले म नजिकै पुगेँ र सोधे–
”बाबु ! तिम्रो नाम के हो ?
“यूरोप”
साथी बनाउने सोच राखेर जिस्कदै भनेँ “एशिया होइन ?”
“होइन ! मेरो दाजुको नाम हो एशिया ।”
“ए ! होर ।”
“कति कक्षामा पढ्छौं बाबु ?”
“सातमा”
उसले छोटो उत्तर दिदै थियो । म भने उक्त बाबुलाई धेरै कुरा सोध्ने उद्देश्य राखेर प्रश्नको वर्षा गराइरहेको थिएँ तर ऊ भने फूटबल खेल हेर्न नै मस्त हुदै छोटो उत्तर दिईरहेको थियो । मैले यूरोपलाई सोधे – “बाबु ! यो तिमीहरुको स्कुलको कस्तो खेल हो ? शिक्षकहरु बिनाको ?”
“कम्पिट्सन हो, कक्षा सात र आठको अङ्कल । हाम्रो पालो आज ।”
“ए ! पढाई हुँदैन आज ?”
“हुन्छ, हाफ ट्याम्मा कक्षा–कक्षाबीच खेल हुन्छ क्या अङ्कल । आज सात र आठको छ ।”
ए । नबुझे पनि बुझे झै गरेँ मैले ।
यत्तिकैमा टिफिन सकिएको घण्टी बज्यो । घण्टी बजेको दश मिनेटसम्म अझै विद्यार्थीहरु यताउता घुमिरहेका देखिन्थे । । स्कूलको पोशाकमा रहेको उक्त केटो नजिकै अर्को एकदम खाइलाग्दो केटो थियो । जिन्स पेन्ट र सेतो टिसर्टमा सजिएको उक्त केटो धेरै आकर्षक र खाइलाग्दो देखिन्थ्यो ।
फूटबल खेलाडीले लगाउने जुक्ता लगाएको उक्त केटो कागको बथानमा बकुल्लो जस्तो देखिन्थ्यो । उसलाई शिरदेखि टाउकोसम्म नजर लगाएँ र केही कुरा उसको बारेमा सोध्न मन लाग्यो । त्यो जिन्स पाइन्ट लगाउने केटो, यूरोप र केही विद्यार्थीहरु त्यहीँ थिए ।
“अहिले कसको पिरियड हो यूरोप ?”मैले सोधेँ ।
“हेडसरको पिरियड” ।
“बाबु हेडसरले कुन विषय पढाउनुहुन्छ ? ”
“स्वास्थ्य र शारीरिक शिक्षा हो तर धेरै दिन हाम्रो कक्षामा आउनु भाछैन । सधै खेल् न मात्र भन्नुहुन्छ ।”
“किन नि बाबु ? ”
“खै ! केइइ… था छैन । काम छ भन्नुहुन्छ ?”
“स्कुल सधैँ आउनुहुन्छ त ? ”
“स्कुल त ससुराली जस्तै हो । सरको अनुहार देख्न नै साह्रै गाह्रो हुन्छ । आज त आउनुभाछ । ऊ चौताराँ हुनुहन्छ ।”
यूरोपको कुराले म दङ्ग परेँ । केही विद्यार्थीहरु त्यही ग्राउण्डमा बसिरहेका थिए र खेल्न आँटिरहेका थिए । अन्य विद्यार्थीहरु कक्षामा जानुको सट्टा यताउता दौडिरहेका थिए ।
शिक्षकहरु कक्षामा जानुको सट्टा पिपलको छहारीमा ब्यस्त देखिन्थे ।
“यूरोप, यो भाईको यूनिफर्म खै नि ?” जिन्स पाइन्ट लगाउने केटोलाई देखाउदै मैले सोधे । “ऊ त अर्कै स्कुलको विद्यार्थी हो नि ।”
“यो भाई पनि हाम्रो स्कुलमा पढ्ने जस्तो देख्नुभाछ ?”
“किन र बाबु ?”
“ल यो भाई त काठमाण्डौंको बोर्डिङा पढ्छ । बोर्डिङको बिदामा ऊ गाउँमा आको र यहाँ रमाइलो हेर्न आको हो नि ?
“ए हो र !” म उसको साथी जस्तै भइसकेको थिएँ । ऊ स्कूलको बालक्लबको सदस्य पनि रहेछ । उसले धक नमानी भन्यो–
“हजुरलाई थाहा छ ,अङकल ?”
“के बाबु ?”
“ऊ त हाम्रो हेडसरको छोरा हो नि ।”
अचम्म छ ! मनमा खिन्न हुँदै म चारपाइला अघि सरे । जहाँ एकजना बयोवृद्ध लौरो साथी लिएर बरको छहारीमा रहेको देखँे । उहाँ समाजसेवी काइलाँ बा । केही कुराकानी गर्ने मनसाय बोकेर मैले बृद्धबालाई नजिकै पुगेर नमस्कार गरँे । नमस्कार फर्काउँदै बृद्धबाले मलाई सोधपुछ गर्नुभयो–
“तिमी रामेको छोरो हैन र भन्या ?”
“हजूर हो”।
“तिमीहरु जस्ताले गाम छोडिहाल्यौ ?”
“परिस्थितीले हो बा ।” मैले छोटो उत्तर दिएँ ।
हुन पनि मैले गाउँ छोडेको लगभग बीस वर्ष भइसकेकोे छ । धेरैजसो बृद्ध बा–आमा मात्र भएकोले लास उठाउन पनि कहिले त समस्या पर्छ यो गाउँमा । मैले बृद्धबालाई स्कुलको बारेमा केही सोध्नु अघि नै बाले स्कुलको बारेमा धेरै वितृष्णा रहेको कुरा बताउनुभयो । नौवर्ष अघि वि.व्य.स.को अध्यक्ष रहेको बताउदै ती बृद्धबाले पहिले हेडसरको बारेमा कुरा काट्न भ्याईहाल्नुभयो।
ए बाबु ! तिमि पनि स्कूलको शुभचिन्तक हौ । हेडमास्टरलाई वाइपास गर्नुप¥यो, हेरी । …स्कूल सुधार्न !
किन र बा ? मैले प्रश्न सोधे ।
उहाँले भन्नुभयो “उनीसँग तीनवटा ठूला पार्टीको सदस्यता छ,हेरी । तेसैले उनलाई यस विद्यालयको हेडमास्टर. बनाइएको हो । उनले स्कूलमा तेति पढाउनुपर्दैन । तेति हैन, एक पिरियड छ रे । तेही पनि अर्को सरलाई जिम्मा देको छ रे । नपढाउने शिक्षक पनि कसरी हेडमास्टर हुन्छ, हेरी ? साह्रै शक्तिशाली, प्रतिभाशाली मान्छे हाम्रा हेडमास्टर ।
शब्दबाट वर्णन असम्भव छ । फेरी, उनी त शिक्षकहरुको नजरमा भगवान विष्णु हेरी । तेसैले उनलाइ पूजा गर्छन् । बर्षमा जति स्कुल खुलेपनि लगभग एक महिना जति त आउँछन् हेरी । उनले पढाउनु नपर्ने, आएको समयमा राजनितिक गफहरु चुट्ने, गर्मीमा शीतलमा बस्ने र जाडोमा घाम ताप्ने मात्र काम हो हेरी ।
तै पनि हेडमास्टरको बिदा कहिल्यै काटिदैन । बढुवा हुनेमा उनको नाम पहिलो लंबरमा आउँछ । अभिनन्दन पाउनेमा उनकै नाम । यस्तो मेओ बिनाको दाइ गर्ने स्कुलले पनि कैले प्रगति गर्ने ? एसएलसि ! आच्या ! अहिले त एसइइ भन्छन् हेरी ! नतिजा हेर्दा जिल्लामा पछाडीबाट दोस्रो तेस्रोमा पर्छ ।
“ए हो र बा !”
“ हेडमास्टर. भन्या त स्कुलको मुख्ये इन्जिन हो हेरी । इन्जिनले काम नगरेसि के हुन्छ…. ? ऊ त स्कुलको अभिभाबक हो । ऊ त स्कुलको प्रशासक हो । ऊ त स्कुलको ब्याबस्थापक हो । ऊ त स्कुल परिवर्तको बाहक हो । ऊ त स्कुलको स्टापको नेता हो । ऊ त स्कुलको उर्जा थप्ने खै के रे उत्प्रे..र..क हो । ऊ त समाजसेबी हो ! ऊ त स्कुलको फलेको हाँगा हो । रिकर्ड जसोतसो फाइलाँ मात्र ठिक्क पारेर पुग्दैन हेरी ।”
“हो बा, हो । सबै शिक्षकहरुलाई शसक्त बनाएर परिवर्तनको नेतृत्व गर्नुपर्छ । तर काम हेडसरको धेरै हुन्छ नि बा । जम्मा भत्ता पाँचसय । राजनैतिक दबाब उस्तै…………………….. ।”
“दुधको साक्षी बिरालो नबन तिमी पनि हेरी । अप्ठ्यारो छ, सजिलो छ कल्ले भन्याछ र ! अतिरिक्त काम गर्नुपर्ने बेलाँ सुतेर हुन्छ त ? चिमोटेर कल्ले बिउझाउने होला निन्द्राबाट हेडमास्टरलाई ।
“घर स्कुल नजिकै छ । दिनमा एकपल्ट त अवश्य स्कुलाँ आउँछु । केही गर्न सक्ने होइन बाबु हाम्ले ! मुखको तितो फालेको हेरी। ऊ मेरो जग्गामा बनेको भवन रातो चाई । मैले दान दिएको जग्गामा बनेको भवन, हेर त ।”चोरीऔलोले देखाउँदै बोल्नुभयो । अब तिमीहरु जस्ताले आवाज निकाल्नुप¥यो हेरी ।”
“म पनि शहरमा छु । हुन्छ प्रयाश गरौँला बा । भन्छन् नि बा –अहिले नगरे कहिले गर्ने,हामीले नगरे कसले गर्ने” मैले फोस्रो आश्वासन दिएँ ।
”मनमनै सोचेँ–मेरो आफ्नै सामुदायिक स्कूलको हेडसरको हालत पनि उस्तै त छ नि ! मेरो कार्यरत स्कूल दूध पोखरी बनाउने सपना थियो तर पानी पोखरीमा परिणत हुनपुग्यो ।
बुढासँग नसकिने भयो भन्ने ठानेँ । वास्तवमा सामुदायिक स्कूलको उन्नती गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न हेडसरबाट नै थालनी हुनुपर्छ । बृद्ध बा बरको फेदमुनि बसिरहनु भएको छ । म भने अफिसमा पनि नछिरिकन घरतर्फको बाटो तताएँ । फुटबल ग्राउण्डमा उही हेडसरको छोरो दौडिरहेको र पिपलको फेदमा उही हेडसर कुर्सीमा अढेस लगाएर बसिरहेको देखेँ ।
पाँचवर्षपछि त स्कूलमा आमूल परिवर्तन भएछ । हेडसरको छोरो पनि सोही स्कूलमा पढ्दो रहेछ । मानिसहरु भन्थे–हेडसरले घरको काम गर्न छोडेछन्,शितलमा बस्न पनि छोडेछन् । हेडसरको लगन साथसासाथै हरेक दिन बि. व्य. स को र सरोकारवालाको अनुगमन.,मेहनती शिक्षकहरु, मेहनती र अनुशासित विद्यार्थीहरु, चिन्तनशिल अभिभाबकहरुले सुन्दर मा. बि., नमूना मा. बि.मा परिणत भएछ ।
लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |