

धादिङ,१२ असार।
धादिङमा डेंगुको संक्रमण फैलिँदै गएको छ।
बर्खा सुरु भएसँगै डेँगु संक्रमण फैलिएको छ। हिउँदमा शून्य भएको संक्रमण बर्खा सुरु भएसँगै फेरी बढ्न थालेको छ ।
चालु आर्थिक बर्षको साउन १ यता हालसम्म धादिङ जिल्लाका मात्रै २ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको छ। आज बुधबार मात्रै १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार आज नीलकण्ठ नगरपालिकाका ७ जना पुरुष र ६ जना महिला गरी १३ जनामा संक्रमण भएको छ । योसँगै जिल्लाका १ हजार ४२४ जना पुरुष र १ हजार २४२ महिला गरी कुल २ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ ।
संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ७०४ जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
गजुरीमा १२० र त्रिपुरासुन्दरीमा ८१, ज्वालामुखीमा १०२, धुनिबेशीमा ९४, गल्छीमा १३२, सिद्धलेकमा ९२, बेनिघाट रोराङमा १३९, गंगाजमुनामा ३५ थाक्रेमा १८, रुवीभ्यालीमा १०, नेत्रावती डवजोङमा १५ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्लाको कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । यो तथ्याङ्क २०७९ साउन १ देखी २०८० असार १२ गतेसम्मको हो ।
डेंगु कसरी लाग्छ ?
डेंगु एडिस (adis) जातिका (एजिप्टाई र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो । ३० देखि ४५ दिनसम्म बाँच्ने यस लामखुट्टेले आफ्नो जीवनकालमा ९ पटक अन्डा पार्छ। एक पटकमा एक सय ५० भन्दा बढी अन्डा पार्ने यो सातदेखि १० जना मानिसलाई टोकेपछि मात्र अघाउँछ । यसकारण यो लामखुट्टेले धेरैलाई डेंगु सार्ने सम्भावना हुन्छ। यो लामखुट्टेले टोकेपछि ९० प्रतिशत मानिसलाई लक्षण देखिन्छ।
डेंगु भएको कसरी थाहा पाउने ?
तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्छ।
ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् ः
– असाध्यै टाउको दुख्ने ।
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
– ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
– शरीरमा विमिरा आउने ।
– धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ ।
– वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ ।
रक्तश्रावको खतरा हुने अवस्थाहरु
– लामो समयसम्म वेहोस भएमा
– जलवियोजन र वेहोस भएमा
– कलेजोमा खराबी उत्पन्न भएका
– दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा
– ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा
– रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा
– शरीरमा कुनै प्रकारको चोटपटक लागेमा
रोकथामका उपायहरु
– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ
– पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ ।
– कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |