प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा मकवानपुरमा उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई बलियो बनाउँदै आएका छन् ।
मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै आएका उम्मेदवारहरु आफैंले भने आफूलाई भोट हाल्न पाउने छैनन् । आफ्नो बसोबास स्थल अर्थात मतदान केन्द्र एकातिर आफ्नो उम्मेदवारी अनेत्र भएको कारण मकवानपुरबाट उम्मेदवार भएको केही उम्मेदवारहरुले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदातालाई खुसी पार्न मकवानपुरमा दलका उम्मेदवारहरू अगुवा कार्यकर्ता भेला, छलफल तथा अन्तक्रियामा व्यस्त छन् ।
आफ्नै पार्टीका कार्यकर्ताको मात्र नभई अरूको भोट कसरी आफ्नो पक्षमा पार्ने भन्नेमा दलका नेता र उम्मेदवारहरू रणनीति बनाउन तल्लिन छन् । तर, अरूको भोट पाएर जित्ने दाबीका साथ हिँडिरहेका मकवानपुरका केही उम्मेदवारहरू आफैँलाई भने भोट हाल्न नपाउने अवस्थामा रहेका हुन् ।
मकवानपुर जिल्लाको २ प्रतिनिधि सभा र ४ प्रदेश सभा अन्तरगत उम्मेदवार रहेका रहेकाहरु मध्ये केहीको यस्तो अवस्था रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुरमा कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये केहीले मतदाता नामावलीमा आफ्नो नाम भएकोभन्दा फरक क्षेत्रमा उम्मेदवारी दिएकाले आफैँलाई मत हाल्न नपाउने भएका हुन् ।
मकवानपुरबाट आफैँलाई मत हाल्न नपाउने उम्मेदवारहरूमा विशेष गरी ठूला दलका उम्मेदवारहरू नै रहेका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा सत्तागठबन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सत्तागठबन्धनकै एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले आफैँलाई मत हाल्न पाउने छैनन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी डिनाको मतदान केन्द्र क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका–७ मा रहेको श्री मावि मेलटारमा रहेको छ । यसैगरी, क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका खतिवडाले क्षेत्र नम्बर १ को हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।
यसैगरी, नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका एकलाल श्रेष्ठले पनि आफूलाई मत दिन पाउँदैनन्। उनको मतदाता नामावली क्षेत्र नम्बर २ (क) मा रोपवे भवन चौकिटोल मतदान केन्द्रमा रहेको छ ।
सत्तागठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मुक्तानले पनि आफूलाई मत दिन पाउँदिनन् । क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बनेका बानियाँले क्षेत्र नम्बर १ (क) मा रहेको कमला निमावि मतदान केन्द्रमा मतदान गर्नेछन् भने क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेकी मुक्तानले क्षेत्र नम्बर १ (ख) बाट मतदान गर्नेछिन्।
प्रतिष्पर्धाको क्रममा आफ्नो जितको संभावना जहाँ छ त्यहाँबाट उम्मेदवारी दिन पार्टीले सुझाएको कारण आफ्नो मतदान केन्द्र भएको भन्दा अन्यत्रबाट उम्मेदवारी भएको उनीहरु बताउँछन् ।
स्थानीय तह सदसस्य निर्वाचन जस्तो प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो क्षेत्रको प्रभावको कारण हार जितमा खासै अर्थ नराख्ने गठबन्धनकी उम्मेदवार मोक्तानले बताइन् ।आजको राजधानी दैनिकमा खबर छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |