बाग्लुङ – बाग्लुङको निसीखोला गाउँपालिका–२ का वीरबहादुर विकले गाउँमा खानेपानी आउने आश्वासन पाएको ३० औँ वर्ष भयो । ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्रीसमेत भएँ । तर उहाँले घरमा खानेपानीको जोहो गर्न दैनिक चार घण्टा खर्चिनुपर्छ ।
गाउँका सयौँ नागरिक सहज र स्वच्छ खानेपानी उपभोग गर्नबाट वञ्चित छन् । मङ्सिर ४ को चुनावका लागि अहिले पनि नेता घर–घरमा पुगेर पुरानै आश्वासन दोहोर्याइरहेका छन् । विकसहित गाउँलेले यसपालि पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन् ।
‘गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरूले वर्षाैँदेखि खानेपानीको समस्या भोग्दै आएका छौँ’, विक भन्नुहुन्छ, ‘अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैलाई नेता बनाइयो, अब हामीहरू एकजुट भएर पानी ल्याइ दिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौँ ।’
निसीखोला गाउँपालिका–२ को अर्नाकोट र सिँडेरीका दुई सय २० भन्दा बढी घरधुरीका सयौँ नागरिक अहिले सहज र स्वच्छ खानेपानीबाट वञ्चित छन् । वर्षाको समयमा घ्याम्पोमा सङ्कलन भएको पानी झन्डै डेढ महिना पुर्याउनुपर्ने बाध्यता आफूहरूलाई रहेको स्थानीयवासी छलिबिरा विकले बताउनुभयो । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार नै मच्चिने बताउनुहुन्छ ।
‘चुनाव आयो कि नेता पानी बाँड्न आउँछन्, उनीहरूले पानी ल्याइदिन्छौँ भन्न लागेको दशकौँ भयो’, उहाँले भन्नुभयो, ‘बिहान उठेदेखि पानी बोक्न सुरु गरेको राति नसुतुन्जेल पानी बोक्नुपर्छ ।’
उहाँले घण्टौँ हिडेर पानी बोकेर ल्याउनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउन नसक्दा छोराछोरीको पढाइसमेत बिग्रिने गरेको गुनासो गर्नुभयो । खानेपानीको धारा र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दापढ्दै छोड्ने गरेको विकको भनाइ छ । अर्नाकोट र सिँडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरूले भ्रम छर्ने मात्रै गरेको उहाँ बताउनुहुन्छ ।
‘भोट माग्न आउँदा एक घर एक धारा बनाउँछौँ, चुनाव जितेर गए पछि कहिल्यै समस्या राख्न पाइँदैन, एक पटक पनि फर्किएर गाउँमा आउँदैनन्, चुनाव आयो भने नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्’, उहाँले भन्नुभयो, ‘नमस्कार र आश्वासनले हाम्रो तिर्खा मेटिँदैन ।’
अर्नाकोटका धेरैजसो स्थानीयवासी पानी बोक्नका लागि ढोरपाटन नगरपालिका–५ को बसुन्धरा, बाँसखोला र बराहथान जानुपर्छ । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले नसुनेको स्थानीयवासी झमबहादुर कुँवरले बताउनुभयो । उहाँले गाउँको समस्याको बारेमा सरोकारवाला निकाय सबै ठाउँमा हारगुहार गरे पनि खानेपानी समस्याको समाधान गर्न नसकेको बताउनुभयो । ‘गाउँको समस्या लिएर धेरै ठाउँमा माग राखियो, जताततैबाट आश्वासन मात्रै आयो तर पानी अहिलेसम्म आएन, अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान वरपर छैन’, उहाँले भन्नुभयो, ‘सानोतिनो भएका मुहान पनि सुक्दै गए, पानीको स्रोत छैन ।’
स्थानीयवासी दीपक विकले खानेपानीको समस्याले गर्दा गाउँका धेरैजसो हुनेखाने बसाइँसराइ गरिरहेको बताउनुभयो । उहाँले अर्नाकोटवासीको मुख्य समस्या खानेपानी भएको भन्दै नेताहरूले उनीहरूको पीडा नबुझ्ने तर चुनावमा तिनै स्थानीयवासीको मतको महत्त्व बुझ्ने गरेको बताउनुहुन्छ ।
यो ठाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । तर खानेपानी र यातायातको सहज उपलब्धता नहुँदा ओझेलमा परिरहेको छ ।-रासस
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |