आगामी मङ्सिर ४ गते आगामी पाँच वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्ने दिन नजिक आइरहेको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एक मतपत्र लिएर मतदाताले आफूले रोजेको उम्मेदवारलाई मतदान गरे पनि आसन्न निर्वाचनमा चारवटा मतपत्रमा मतदान गर्नुपर्नेबारे कतिलाई जानकारी नहुन वा अन्योल हुनसक्छ ।
नयाँ मतदाता झन् अन्योलमा पर्न सक्छन् । त्यस्ता अन्योल हटाउँदै मत बदर नहुने गरी कसरी मतदान गर्ने भनेर सिकाउन के तपाईंको घरदैलोमा निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत खटाएका स्वयंसेविका आइपुगे त ? तपाईंलाई अन्योल छ र तपाईंको घरदैलोमा मतदाता शिक्षा दिन स्वंयसेविका आइपुगेका छैनन् भने बुझ्नुस्, र बोलाउनुस्, आइपुगेका छन् भने नबुझेका कुरा सोध्नुस् । मत बदर नहुने गरी मतदान गर्न सिक्नुस् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा सञ्चालन समितिमार्फत टोल–टोलमा पुगेर मतदाता शिक्षा सञ्चालन गरिरहेको छ । स्वयंसेविकाहरू निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता शिक्षाका सामग्री पर्चा, पम्प्लेट र नमूना मतपत्र लिएर टोल र घर–घरमा पुग्न थालेका छन् । कार्यालयले यही कात्तिक १७ गतेदेखिनै भक्तपुरमा मतदाता शिक्षा सञ्चालन गरेको र अहिले मतदाताले उत्साहका साथ मतदाता शिक्षा लिइरहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले बताउनुभयो ।
कार्यालयमा प्रत्येक पालिकाको वडा तहमा वडा सचिव संयोजक रहेको मतदाता शिक्षा सञ्चालक समिति गठन गरी मतदाता शिक्षा समन्वय समितिले तोकिएको महिला स्वास्थ्य स्वयंसेविका र वडासचिवले तोकिएको सहायकस्तरका कर्मचारीलाई मतदाता शिक्षाका लागि परिचालन गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संयोजक, स्थानीय तहको सामाजिक विकास अधिकृत सदस्य, स्वास्थ्य शाखा प्रमुख र सम्बन्धित स्थानीय तहको निर्वाचन सम्पर्क व्यक्ति सदस्य सचिव रहने गरी गठन गरेको समितिले प्रत्येक वडाका घरघरमा गएर मतदाता शिक्षा प्रदान गरिरहेका छन् । प्रत्येक वडामा दुई जनाका दरले जिल्लाका ४८ वटा वडामा ९६ जना स्वयंसेविकाले मतदाता शिक्षा दिइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यालयले चार वटै पालिकामा नमूना मतदान कार्यक्रम सम्पन्न गरिसकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिनुभयो । उहाँले आज २४ गतेसम्म सहायक मतदान अधिकृत र मतदान अधिकृतलाई तालिम प्रदान गरिसकिने जानकारी दिँदै मङ्सिर २५ गतेभित्र सहायक निर्वाचन अधिकृतलाई मतदान सामग्री प्रदान गरिने बताउनुभयो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ जना मतदाता छन् । सो क्षेत्रमा एक सय १५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेको र एक सय सातवटा मतदान केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |