

शरण रेग्मी
गोधुली साँझमा म सुन्दरबस्ती तिर अगाडि बढ्दै थिएँ । गोधूली साँझको कारण अलि हतार हतारमा म हिँड्दै थिएँ ।
बाटोमा मेरो अगाडि एउटा एघार-बाह्र वर्ष जतिको बालक लमकलमक हिँडिरहेको थियो । यस्तो लाथ्यो कि ऊ भकुन्डो जस्तो गुडिरहेको थियो । मोबाइल बालेर हेरे, सेतो सर्ट, रातो स्वेटर, रातो पाइन्ट र टाइ मा सजिएको बालक थियो ।
उसले रातो झोला भिरेको थियो । रातो झोलामा किताब थियो होला । सायद झोलाको वजनले होला, टाउको र खुट्टा लगभग सय डिग्री जस्तो देखिन्थ्यो ।
असी वर्ष नाघेको बुढोले हिँडेको जस्तो गर्दै घरिघरि ब्यागलाई माथितिर तान्दै ब्यागलाई तल झर्नबाट जोगाउँदै ,घरिघरि मुन्टो सिधा पार्दै हिँड्दै थियो । मनमनै विचार गरे, त्यो बालकको वजन भन्दा ब्यागको वजन बढी नै थियो होला ।
नजिकै गएर बोलाउने इच्छा गर्दै मैले पाइला छिटोछिटो अघि बढाएँ तर पनि मलाई त्यो बालकलाई भेट्टाउन कठिन प¥यो ।
सायद डराएर होला । दौडेर बल्लबल्ल बालकलाई भेट्टाए । बालकले पुलुक्क म तिर हे¥यो । न्याउरो अनुहार, पातलोपातलो शरीर भएको उक्त बालकले मलाई कुनै प्रतिक्रिया जनाएन ।
बालकलाई सहज होस् भनेर भलाकुसारी गर्दैजाने मनसाय मेरो थियो । पहाडको नागबेली बाटो थियो । ओरालो बाटो झर्दै हामी बस्तीतिर अघि बढ्यौँ । फाटफुट घरहरू भेटिन थाले । म पुग्ने घर बस्तीको लगभग बीचमा थियो । सुन्दर बस्ती साँच्चै नाम नै जस्तो सुन्दर छ ।
वरिपरि ठूला-ठूला पहाड , रमणीय हिमाल, हरिया वनहरु, बाटैभरि हाँगा– हाँगामा फुलेका फूलहरूले सुन्दर बस्तीलाई थप सुन्दर पारेको छ । अलि तल बेसीमा त्रिशूली नदी नागबेली परेर बगेको देखिन्थ्यो ।
नदीको किनारै-किनारमा लामो लमतन्ने परेको रोड थियो । रोडमा धेरै गाडीहरू तँछाड मछाड गर्दै दौडिरहेको थियो ।
बालकलाई वास्ता नै नगरी सुन्दरबस्ती लाई एकपटक नियाले । झुरुप्प–झुरुप्प परेको घरहरू, धेरैजसो ढलान गरेका घरहरू देखिन्थे । फेरी सानो जङ्गल पार गरेर जानुपर्ने बाटो थियो ।
बाटोमा कालिज चराहरू पनि देखियो । जसरी आमाको माया सन्तानमा हुन्छ ,एउटा शिक्षकको माया शिष्यमा हुन्छ । मैले बालकको ध्यान तान्ने प्रयास गर्दै बोले–“बाबु कति राम्रो कािलज चराहरू !” बालक बोलेन । फेरी मैले सोधेँ –“बाबु तिमी कहाँसम्म पुग्ने हो ? गाउँको पुछार हो ?” बल्ल उसको मुखबाट आवाज निस्कियो । “त्यइ तलसम्म ।” उसले छोटो उत्तर दियो ।
सहयात्रीलाई प्रश्नको बर्षा गरेँ । “बाबु तिम्रो नाम के हो ?” “मेरो नाम अनुप रेग्मी ।” “बाबु कसको छोरा ?” “हर्कमान ।” म पुग्ने घर पनि रेग्मीको घर थियो । त्यो गाउँमा हर्कमान नाम गरेका र रेग्मी नै थर गरेका धेरैजना थिए । अतः मैले फेरी प्रश्न तेर्साए । “बाबु तिम्रो बुबा टिचर हुनुहुन्छ ,हो ?” होइन । व्यापारी हुनुहुन्छ, हो ? हो । उसले छोटो उत्तर दियो ।
करीब दश वर्षअघि मात्र मैले यो गाउँमा पाइला टेकेको थिए । म स्वदेश फर्किएपछि पहिलोपल्ट यस बस्तीमा प्रवेश गरेको थिएँ।
यो गाउँमा मेरो मामाको छोरा, हर्कमान को घर छ । अहिले मलाई पक्का भयो कि म पुग्ने घरपनि यही बालकको घर हो । मैले मनमनै विचार गरे-मैले मेरो परिचय दिए भनेपनि यो बालकले चिन्दैन ।
अतः परिचय दिन उचित ठानिन । डराउन कम हुन्छ होला भन्ने ठानेर मैले केही कुरा राख्ने जमर्को गँरे साथै म प्रति बालकको ध्यान आकर्षण गर्न विभिन्न प्रश्नहरु सोध्ने अठोट गँरे ।
सायद अपरिचित व्यक्ति भनेर ऊ डराइरहेको थियो होला । आफन्त नै हुनुहुदो रहेछ भनेर केही बोल्छ कि भनेर भनेँ “बाबु म पनि तिम्रै घरको पाहुना हुँ ।” त्यसपछि भने उसले मेरो मुखमा फर्किएर हे¥यो र भन्यो “ए हो र ।” “हजुरको घर अंकल ।” बालक बोलेको देखेर म खुशी हुँदै भने । “गोरखा” ।
बाटोको दायाँतिर एउटा ठूलो बाँसको गाँज थियो । चराहरू चिरविर-चिरविर कराइरहेका थिए । मैले भने–बाबु ! हेर न चराहरू कति राम्रोसँग गीत गाइरहेका छन् । तिमीलाई सारौँ चरा मनपर्छ ? देखेका छौ त्यो चरा ? “अंकल चरा त मेरो घरमै छ । चरासँग म खेल्छु ।”
लगभग पाँच मिनेटपछि फेरी सेतो हिमाल देखियो । मैले उसको ध्यान तान्न फेरी भने-बाब ! हेरन कति राम्रो हिमाल टल्केको ।
“अंकल हिमालको ठूलो-ठूलो चुचुराहरु मेरो घरमै छ ।” म दङ्ग पँरे र मनमनै सोचेँ , सायद त्यो पिक्चर्स अथवा पेन्टिङ होला । उसलाइ भनेँ “त्यो पिक्चर्स अथवा पेन्टिङभन्दा रियल हिमाल हेर्न राम्रो हुन्छ नि ।” तर उसले मेरो कुरामा पटक्कै ध्यान दिएको थिएन । ऊ आफ्नै सुरमा अघि बढ्दै थियो । मैले पनि बढी दो¥याउन चाहिन ।
हिड्दै जाने क्रममा दुइवटा मृगले हाम्रो बाटोलाई क्रस गरेर बायाँबाट दायाँतिर गयो । सायद बच्चा र माउ थियो कि ? मैले हत्तनपत्त बालकलाई भने –बाबु तिमिलाई मृग मनपर्छ ? कति राम्रा मृगहरु है ?” उसले बुझेन कि क्या हो । कुनै प्रतिक्रिया नजनाएपछि फेरी भँने-“डियरहरु कति राम्रा है बाबु ?” उसले भन्यो –“अंकल डियरहरु पनि मेरो घरमै छ ।” एउटा मनले भन्यो- धेरै पाइने र देखिरहने वस्तुहरु मूल्यहिन हुँदा रहेछन् ।
प्राकृतिक वातावरण मन नपर्ने पनि बालकहरु हुँदा रहेछन् । अर्को मनले भन्यो–यो बच्चालाई केही स्टे«स हुनुपर्छ । नत्र मन पर्न नै पर्ने हो । केही मिनेटको हिडाई पश्चात् हामी हर्कमानको घरनजिकै पुग्यौँ ।
हर्कमानको घरनजिकै पानीको धारो थियो । धारोमा पानी पिएर म पनि घरको गेटबाट छिरे । बालक अघि नै घरभित्र छिरिसकेको थियो । घरमा हर्कमान टि.भी. हेरेर बसिरहनुभएको रहेछ । अर्कोतिर हर्कमानको श्रीमती मोबाइलमा सायद फेसबुकमा व्यस्त हुनुहुन्थ्यो कि ! अर्को एकजना व्यक्ति पनि हुनुहुदोरहेछ ।
बालकले ड्रेस चेन्ज गरेर ममिसँग भन्यो “ममी भूइगान्टे नेपाली पढाउने सरले आज पिट्यो नि !” याँ दुखिराछ भनेर उसले पिडौँला देखायो । बाबा, ममि र गुरु भनेका ज्यूँदा देवता हुन भन्दै उनीले सम्झाइन । “आज सिक्सवटा होमवर्क ममि ।” “ए” भन्दै बालकको ममिले तुरुन्तै पानी र दुध गिलासमा लिएर आउनुभयो ।
बालक पानी र दुध पिएर पढ्न तयार भयो । शिक्षक नजिकै हुनुहुन्थ्यो । उनी पढाउनमा तम्तयार थिए । टेबलमा धेरै किताबहरुको चाङ थियो । बालक म तर्फ हेरेर बोल्यो –“अंकल मेरो हिमाल हेर्नु त ?” “खै बाबु ?” मैले सोधे । उसले किताबको चाङ देखाउदै भन्यो– “अंकल यहि हो मेरो हिमाल, म यही हिमालमा चढ्छु । मैले यसैमा रमाउनुपर्ने छ ।
ड्याडीममिलाई यही हिमालमा चढेको मनपर्छ । मैले ड्याडीममिलार्ई खुशी बनाउनुछ । ड्याडीममि खुशी हुनुहुन्छ भनेर म यही हिमाल हेर्छु । यही हिमालमा चढ्छु । यही हिमालबाट ओर्लन्छु । सोही समयमा मलाइ हेर्दै हर्कमान बोल्नुभयो -छोरो सिक्समा पढ्छ । यसलाई डक्टर बनाउनुपर्ने छ भाइ । प्रसिद्ध र सफल डक्टर साप ।
हर्कमानको श्रीमती पनि मलाई हेर्दै बोल्नुभयो–जसरी पनि हामीले यसलाई डाक्टर साप बनाउनुछ बाबु ।” बिहान स्कुलमा सात बजेबाट ट्यूसनमा राख्याछौँ । म नौबजे भात लिएर स्कुलाँ जान्छु । त्याहा नै उसले भात खान्छ । बेल्का पनि ट्युसनमा राख्या छौँ।
कक्षामा अहिलेसम्म फास्ट भएको छ । पछि खै के हुन्छ ?आजका दिनसम्म हाम्लाई खुशी देको छ बाबु ! ”यो सरासर गलत हो भन्न मन थियो तर सकिन । तर छोटकरीमा भने- बच्चालाइ दबाब दिनु राम्रो होइन है दाइ । प्रसिद्ध र सफल डक्टर मात्र होइन, खुशी र अशल डक्टर पनि ।
नुपलाइ मेरो परिचय पनि दाइले नै दिनुभयो । त्यसपछि त ऊ मेरो सानो साथी भयो । एक घण्टा पढाएर शिक्षक जानुभएपछि ऊ मेरो नजिक बस्यो । फेरी उसले सारौ, मृग, तित्रा ,भालु,बिरालो आदिको खेलौना देखाउँदै भन्यो- “ अंकल हजुरले भन्नु भएको बर्डज, एनिमलहरु भन्दा इनीहरु बेष्ट फ्रेन्डज हुन् ।”
मैले अबोध बालकलाई एकतमासले हेरिरहेँ । । उसको अधिकार हनन भएकोमा मनमनै चिन्ता लाग्यो । मेरो आँखा अगाडि आँशुका बादलहरु मडारिन थाले । रुमाल निकालेँ खल्तीबाट । कसैले थाहा नपाउने गरी आँशुका ढिक्काहरु पुछेँ ।
म खाना खाएर मलाइ तोकिएको बिस्तरामा गएँ । बेलुका सुत्ने समयमा मनमा विगत दश बर्ष अघिका स्मरणहरु तरङगित हुन थाले । अनुपलाइ दुइ बर्षबाट नै बोडिङमा भर्ना गरिएको थियो । दुइ बर्षको कलिलो उमेरमै उसले ए,बी,सी……,वन ,टु…… , क, ख…….अ,आ….सिक्नुपरेको थियो ।
बोली प्रष्ट नै थिएन तर घरमेै बोर्ड खरिद गरेर लेख्न लगाएका थिए । बिचरा अबोध बालकले अंग्रेजी राइम्सहरु कण्ठ गर्नुपरेको थियो । राइम्सहरु कण्ठस्थ नगर्दा घरमा पिटाइ खान्थ्यो । नेपालमा बसेर पनि बालकले अंग्रेजीमा मात्र बोल्नुपरेको थियो ।
भाउजुको आइ. ए.सम्मको अध्ययन भए पनि राष्ट्रपतिको जस्तो रवाफ थियो । अनुपलाइ कुवाको भ्यागुता जस्तो बनाएका थिए । कोठाबाट बाहिर निस्कन मनाही थियो । छिमेकीको कोठामा जान मनाही थियो ।
नजिकै छिमेकीको कोठामा लगभग तीन बर्ष उमेरको बालक थियो । आयुश उसलाइ साथी बनाउन चाहन्थ्यो तर बीचमा ठूलो पर्खाल थियो । अनुपलाइ डेराको कोठामा बन्दी बनाइ राखेका थिए ।
भाउजु बाथरुम निस्कदा पनि ढोकाको चुकुल लगाएर मात्र जानुहुन्थ्यो । सायद मिल्ने भए बक्समा हालेर जानुहुन्थ्यो होला । घर बाहिर गए लड्छ रे,कोठा बाहिर गए लड्छ रे, दौडिए लड्छ रे, खेले पनि लड्छ रे ,जहिले खेलिराख्छ रे , जहिले चकचक गरिराख्छ रे, माटोमा खेले फोहोर लाग्छ रे, पानीमा खेले चिसो लाग्छ रे, घाममा खेले ज्वरो आउँछ रे । ऊ चरा जस्तै उड्न चाहन्थ्यो तर पाउदैनथ्यो । उसको उमेर नै खेलिरहने,चकचक गरिरहने थियो तर पाउदैनथ्योे । कति निरीह र असहाय !
बिस्तरामा पल्टेँ । दिउँसो बाटोमा आउनेक्रममा पुलमुनिको पानीमा मृत अवस्थामा तैरिरहेको करिब दुइ बर्षको बच्चा आँखाभरी छायो ।
एकजना शहरीया भनाउँदो केटीले शहरबाट आएर फालेको भनेर कुरा गर्दै थिए गाउँलेहरु । जानी जानी फालेको रे । फेरी आँखामा अनुपको तस्वीर देखियो ।
आँखा वरिपरी, मनभरी अनुप नै अनुप भएर होला, मैले सपनामा उसैलाइ देखेँ । ऊ त एस. इ. इ .दिने पो भएछ । विडम्वना ! उसले एस. इ. इ.मा नन ग्रेड ल्याएछ । एस. इ. इ. दिनु पूर्व नै तनाब,चिन्ता र डिप्रेसनले उसलाइ टाउँको दुख्ने,मांशपेशीमा दुखाइ हुने,निन्द्रा नलाग्ने भएको थियो । रिसाउने,झर्कने बानीको विकाश भएको थियो ।
डिप्रेसनको शिकार भएर नियमित औषधी सेवन गरेको थियो । एक मात्र सन्तानको त्यो दयनीय अवस्थाले अनुपका बाबा-ममि चिन्तित थिए ।
बिहान सबेरै चराहरुको गीतले म ब्यूझिएँ । कोठाबाट नै दन्तलहर जस्तै मिलेका, सेता, मनमोहक हिमालहरु देखेँ, घना जङगल देखेँ ,रमणीय पहाड–पर्वतहरु देखेँ । ती प्राकृतिक छटाले हर्षविभोर भएँ । चियाको चुस्किसँगै मैले अनुपको बाबा–ममिसँग बाल अधिकारको बारेमा केही कुरा गर्ने साहस गरेँ ।
अन्जान बालकको बाँच्न पाउने हक,संरक्षण पाउने हक,विकास हुने पाउने हक,सहभागिताको हकको बारेमा बताएँ । बाबा–ममि हुनुको कर्तव्य बोध गराएँ ।
अन्तमा तारे जमिन पर भन्ने मुभि हेर्न सुझाएँ । समयले म आउँछु पनि भनेन,जान्छु पनि भनेन । दिन,महिना,बर्ष हुदै तीन बर्ष बितेछन् ।
एकपल्ट म फेरी त्यही घरमा दिवाली पूजामा पुगेँ । निलो आकाशमा बादलको केही धर्सो देखिन्थ्यो । जुनको मधुर प्रकाशले वातावरण रमणीय बनाएको थियो ।
म त अनुपलाइ देखेर दङ्ग परेँ । कस्तो संस्कारी अनुप ! उसको बाबाले भन्नुभयो-हाम्ले बच्चालाइ तनाब,दबाब होइन,माया,ममता र हौसल्ला दियौँ । स्वस्थ भोजन दियौँ,मायावी वातावरण दियौ,राम्रो संस्कार दियौ,कोपिलामा फक्रन दियौ ।
त्यसैले एस. इ. इ. मा चार जि. पि. ए. ल्यायो अनुपले ।
आयुषको सफलतामा मेरो पनि थोरै हिस्सा थियो । बाल अधिकारको केही हदसम्म प्रत्याभूति दिलाउन सफल म पुलकीत भएँ ।
लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |