प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले विभिन्न जिल्लामा निर्वाचन सामग्री ढुवानीलाई तीव्रता दिएको छ ।
आयोगले पूर्वनिर्धारित निर्वाचन कार्यतालिकाअनुरूप जिल्ला जिल्लामा धमाधम निर्वाचन सामग्री पठाउन थालेको हो । आयोगका अनुसार गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा आइतबार निर्वाचन सामग्री ढुवानी गरेको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहँु विभिन्न जिल्लामा ढुवानी भइरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार हिजो सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको थियो । त्यसै गरी गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री पठाइसकेको आयोगले जनाएको छ ।
यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र पठाउन थालिएको छ । ती जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि पठाउन शुरू गरिएको आयोगले जनाएको छ ।
यसअघि आयोगले ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाइसकिएको छ । यद्यपि ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी छ । आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकबार, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने हुन्छ । निर्वाचन सामग्री जिल्लामा जिल्लामा पु¥याइसकेपछि जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउने छन् ।
यसैबीच आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५ सय गरी कुल २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ ।
चार प्रकारको मतपत्र
निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रूपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।
त्यसै गरी प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |