

शरण रेग्मी
धादिङ,२९ फागुन।
ऊ अत्याधिक खुशी थियो । त्यो अथक प्रयासको परिणाम नै थियो । स्नाकोत्तर तहको परिक्षामा प्रथम श्रेणीमा ऊ पास भएको थियो । हातमा भएको प्रथम श्रेणीको सर्टिफिकेट ऊ मिनेट मिनेट बिराई हेरिहरन्थ्यो र हल्का मुस्कान छोडिरहन्थ्यो ।
सर्टिफिकेट लिएर निस्कँदा उसको अनुहारमा करोडौँका दिपहरु बलिरहेको भान हुन्थ्यो । आफ्ना बुबा– आमा, प्रेमिकालाई सर्टिफिकेट देखाउन ऊ आतुर थियो । बाटोमा एक्लै कुरा गर्दै हिँडिरहेको थियो मानौँ ऊ अर्कै संसारमा छ ।
सर्टिफिकेट हातमा लिई ऊ घरको बाटो ततायो । पानी परिरहेको थियो तर ऊ बाटोमा कयौँ पटक लड्दैपड्दै ७ घण्टा पछि घरको गल्लीमा पुग्यो । गल्लीमा कोइली चरी कुहुकुहु गर्दै कराइरहेकी थिई ।मनमनै जवाफ दिदैँ ऊ भन्दै थियो –“ म अभागीलाई चिनीनस् ? म त डिग्री पास गर्ने कालु हो क्या” अब त म क्याम्पस पढाउने हो अन्त ! अनि …………………”
कालु घरमा पुग्यो । खरले छाएको घर, प्रायः घरभित्रका सबै ठाउँहरुमा सिमसिम पानी परिरहेको जस्तो थियो । पानीले ओछ्यान निथु्रक भिजेको थियो । बाबु–आमा ठूलो आवाज निकाली खोकिरहेको उसले सुन्यो । दुबैजना फोक्सोको बिरामी, बाबु–आमाको सेवा गर्दै दिलकी राजकुमारी सञ्चै भएतापनि मानसिक तनावमा थिइ ।
छोराको सफलताले ती आँखा कम देख्ने र कान कम सुन्ने बुढाबुढीमा ठूलो आशा पलायो । घरमा ठूलो खुशीयाली छायो । खुशी पनि किन नहोस् र ? आफूसँग भएको सम्पूर्ण जमिन बेचेर एक मात्र मुटुको टुक्रालाई पढाएका थिए उनीहरुले ।
आफ्नो आयु समेत थाहा नभएका ति बुढाबुढीहरु खोले र फाँडो खाएर पनि एक कर्मठ छोरो बनाएर गौरब गर्छन् । हुन त बुढीले सन्तान पनि ८ वटा जन्माएकी थिइन् । डोका बोकी–बोकी शहरमा उपचार गराएर नै कालुलाई बचाएका थिए ।
घरमा सम्पत्तिको नाउँमा करेशाबारी र केही फलफूलका बोटहरु थिए । फलफूलका रुखहरु पनि बुढाबुढीको जस्तै अवस्थाका थिए । गाउँमा २ दिन बिताएर कालु सबैको हाई–हाई भयो ।
धेरै व्यक्तिहरु अनपढ रहेका त्यस गाउँमा ऊ नै स्नाकोत्तर उत्र्तिण गर्ने प्रथम व्यक्ति थियो । कापीलाई पानीमा पकाएर पुनःलेख्ने कापी बनाई–बनाई पढेको । पुस्तक किन्न नसक्दा साथीहरुसँग मागेर भएपनि संघर्ष गरेको कालुले आज यस्तो सफलता पाइरहेको छ । जीवनको हन्डर र ठक्कर त कति खायो कति ! गाउँमा बसेर उन्नती नहुने, अझ जिवन धान्न नसक्ने भएपछि उसले शहर जाने योजना बनायो ।
हुनसक्छ जागिर खोज्न । आमा ! ए आमा ! बुबा ! ए बुबा ! कालु बोलाउँछ । तर त्यो जीर्ण शरीरले ्कालुको आवाज सुन्दैनन् । कोठामा गएर बुबा आमासँग बिदावारी भएर श्रीमती कहाँ जान्छ । श्रीमतीको अघिसम्म धपक्क बलेको र शीतले नुहाएको फुलजस्तो रुप अहिले आँशुले भरिएर कुरुप बन्छ । तैपनि मनलाई सम्हालेर उनीले आफ्ना भगवानलाई सुख शान्ती आउने आशामा बिदा दिन्छिन् ।
कालु शहर पुग्छ । अपशोच ! ऊ प्रत्येक कार्यालय, प्रत्येक प्राइभेट अफिसबाट फ्याकिदैँ थियो । घुसखोरी भ्रष्टाचारले कलंकित हाकिमहरले त्यस्तो इमान्दार र असल व्यक्तिहरुलाई कसरी छान्न सक्थे र ? जागीर खान त राम्रो र सक्षम व्यक्ति होइन हाम्रो व्यक्ति पो हुनुपर्छ । बिचरा कालुले कसलाई चिन्न सक्थ्यो र त्यो शहरमा !
श्रीमतीको कचकच, बाबुआमाको त्यो हालत र बेरोजगारको समस्याले ऊ पागल जस्तै भयो । ऊ कहिले खाँडी मुलुक जाने सपना देख्छ, कहिले लेखक बन्ने सपना देख्छ । सबै कार्य गर्न त पैसा नै अगाडी चाहिन्छ र सर्टिफिकेट राखेर पैसा निकाल्न मिल्ने भए उसले सर्टिफिकेट राखेर पैसा निकाल्थ्यो र राम्रो काम तर्फ अग्रसर हुन्थ्यो होला । सारा सपना हावाले उडायो ।
ऊ अहिले यो गीत गाएर बस्छ । उडायो सपना सबै हुरीले …………….।
बसन्तपुरको डबलीमा बसी दिन गुजार्न थाल्यो । पसिनाले निथु्रक्क भिजेको, नशाहरु सर्प जस्तै फुलाएर एउटा ७५ वर्ष उमेर जतिको व्यक्ति रिक्सा चलाउँदै थियो । त्यस व्यक्तिको संघर्षले उसले कामलाई घृणा गर्न छोड्यो ।
उदास, कष्ट र पिडाले भरिएको अनुहारले ईश्वरलाई धिक्कार्दै माला बेच्ने सोच बनायो । बिहान सामान बोकेर बसन्तपुर डबलीमा पु¥याउने र मालाहरु बेच्ने कार्यहरु उसले पायो ।
खाजापानीमा पनि कटौती गर्दै आफ्नो कमाई जम्मा पार्दै थियो ऊ । उता बुबा–आमा र श्रीमतीलाई दिने प्रबल इच्छा राखी दिनचर्या बिताइरहेको थियो । त्यसैबिच आकाशमा कालो बादल मडारिएको थियो । पानी पर्न ठिक्क अवस्थामा छ । कालुलाई एकजना गाउँको दाजु पर्नेले बोलायो र भन्यो– “बाबु तिमी जसरी भएपनि घर जाउ रे, तिम्रो बुबाले बोलाउनुभएको छ ।”
मनमा विभिन्न सोचाईहरु आउन थाल्यो । तैपनि साहस बटुलेर ऊ गाउँतिर पाइला चाल्न थाल्यो । ७ घण्टाको हिडाईपछि ऊ करिब रातको १ बजे गाउँ पुग्यो । उसको झोला भरी सामानहरु थियो । जसमा प्यारी श्रीमतीलाई नयाँ साडी, बाबु आमालाई ल्याईदिएको फलफूल थियो । ऊ घर नजिक पुग्दा आफन्तहरु र गाउँलेहरु रोइरहेका थिए ।
बाटैभरी व्यक्तिहरु कठैबरा भनिरहेका थिएँ । सारा गाउँ स्तम्ध थियो । उसका सारा उमंगहरु घरमा पुगेपछि हरायो । घरभित्र बुढा बाबु आमा जिवनका अन्तिम सेकेण्डहरु पर्खिरहेका थिए भने उता प्यारी श्रीमती घाँस काट्न जाँदा भिरबाट चिप्लेर लडी प्राण त्याग गरिन् रे । उनीको लास मोठमा राखिएको थियो ।
लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |