बाबुराम श्रेष्ठ
धादिङ ।
प्राण भन्दा मेरी प्यारी माया …. प्रदेशी मायाको अभिवादन !
प्रदेशको त्यो ठाउँ, अनि त्यो परिवेश अनि मायाका सम्झनाहरू र तिम्रो याद मै दिन बिताई रहेको छु । तिमी बिनाको यो साँझको स्तब्ध समय । समयले तिमीलाई नै कुरिरहेको छ ।
खै सुरुवाती नि कहाँबाट गरौँ ! लेख्ने केही शब्दहरू नै छैन । जब केही शब्दहरू लेख्न खोज्छु अनि मन भक्कानिएर आउँछ । माया यतिखेर म अनवरत आकाशसँग रमाई रहेको छु ।
आकाशबाट पानी पर्दा म रोक्न खोज्छु , घाम लाग्दा म पानी बर्साउन खोज्छु, तर सक्दिनँ माया । जब रात पर्दै जाँदा गगनमा अनगिन्ती तारा चम्किन थाल्छन् ।
तिमी लुकेर मलाई खोज्दै आउँदा जसरी आकाश नियालिरहेको देख्थ्यौ नि, ठिक त्यस्तै । जब तिम्रो र मेरो मायाका यात्रा शुरु भयो त्यो दिन देखि नै खुसीको सिमा नै रहेन । छोटो समयमा नै हामी कति नजिक भयौ ।
हामी एकअर्का बिना बाच्ने नसक्ने भयौ । जब हाम्रो माया बस्यो तब मेरा मनले धेरै कुरा सोच्न थाल्यो । माया, हो साँच्चै यसरी नै दिनहरू बित्दै गयो ।
माया पनि झन गाढा हुँदै गयो । एक दिनको कुरा हो । उ घर जान लागेको थियो । म घरमा बसि रहेको थिए । अचानक मेरो मोबाइलमा घण्टी बज्यो । मोबाइल हेरे कल थियो मायाको नै ।
कल उठाएको मात्र के थिए । एक्कासि रुन थालिन । काले म तपाईलाई माया गर्छु , म घर जान लागेको भन्दै रुन थालिन । मैले भने माया गर्छु भन्नलाई नि रुनु पर्छ किन रोएको ।
नरोऊ भनेर सम्झाए तर उ मानिन रुदै घर गाइन । मैले पनि घर नपुग्दा सम्म कल मै बोली रहे । उ घर पुग्न करिब २/३ घण्टाको पैदल बाटो हिड्ने पर्ने थियो । जब घर पुगेसी मात्र कल काटे ।
रातभरि निदाउन सकिन । उसकै याद मात्र आयो । भोलि पल्ट उसलाई कुरेर बसे । भेट भयो एकछिन उ नबोली बसिन । मैले बोलाए किन ढिलो आएको,आउँदा आउँदै यस्तै भयो भनिन् । हाम्रो यात्रा अगाडि बढ्यो । मायाका कुरासँग गन्तव्यमा पुगियो ।
भनिन्छ नि लुकिछिपी गरिएको प्रेममा कति धेरै आनन्द !
कहिले म चाल मारेर तिमीलाई भेट्न आउने । कहिले तिमी चाल मारेर मलाई । बिडम्बना यति मात्र हो कि जहाँ भेट्न गयो त्यही तिमी रुदा , मलाई पनि रुन मन लाग्थ्यो तर मैले मन समालेर बस्ने गर्थे ।
किन कि तिमी संगै म पनि रोए भने के हुन्छ । मन नमानी नमानी तिमीलाई अंगालोमा बेरेर मन बुझाउन बहेक केही सक्दिनथे ।
लुकिछुपी लगाएको र चोरीचोरी प्रेम गर्नुको रमाइलो सम्झिएर एक्लै हाँस्थे। तिमीलाई वरिपरि खोज्छु अनि एक्लै बरबराउन अभ्यस्त हुन्थे। जसलाई म आफुभन्दा ज्यादा माया गर्थे ।
यसरी नै दिनहरू बित्दै गयो । तिम्रो अमूर्त स्वरूपको परिकल्पनामा म विलिन भएँ । आँखाले भ्याएसम्म ताराहरू गन्ने प्रयास गरेँ। तिमीले मलाई जूनसँग तुलना गरेको झलझली देखेर पुलकित भएँ र माथितिरै हेर्दै निकैबेरसम्म कुरा गरिरहेँ । हेर्दाहेर्दै जून बिलायो । एकछिन देखिन्छ कि भनेर कुरेँ, नदेखिएपछि यो पत्र लेख्न थालेँ ।
आहा ! तिमीलाई सोच्दै लेख्नुको आनन्द । मानौं, तिमी चुपचाप मेरो कुरा सुनिरहेका छौ, म त्यसैगरी अक्षर र भावनामा आफूलाई घोलेर बोलिरहेको छु । तिमी मेरो निकटतम भएर घुम्दै कानमा फुसफुसाइरहेझैं लाग्छ ।
आहा ! प्रेमको मधुरीमा नै यही हो सायद देह टाढा भए पनि आत्माले भलाकुसारी गर्दै स्नेहको साटफेर गरिरहनु । असल साथीमाथि कुशल प्रभुत्व जमाइरहनु ।
प्रेमका अनेकन कोणको प्रादुर्भाव गरिरहनु । मेरो प्रेम परागसेचन ! तिमी मेरो फूलदानी हौ । म जतनसाथ तिमीलाई फुलाउँछु । अनि ओइलाउन नदिन प्रेम खन्याइरहन्छु । मानौं तिमी दियो र म बत्ती ! बाल्नका लागि प्रेमकै तेल हालिरहनुपर्छ ।
हरेक दिनपछि आउने यो साँझ र गाढिँदै जाने अँध्यारो । जति रात बढ्दै जान्छ, त्यति तिमी उज्यालिन्छौ । रुमानी सोचले सम्मोहनको पराकाष्ठा पार गर्छ ।
श्वासप्रश्वासको उठबस, ढुकढुकीको धकधक, तिम्रो सानिध्यको कल्पना, मेरो अनन्य निनाद । यो चौबीस घन्टाको समय तिमीलाई याद गर्नका लागि एक पलजस्तो मात्र लाग्छ ।
यी सपनाजस्ता लाग्ने दिनहरू यसैगरी बित्दैबित्दै गइरहन्छन् । आँखा बन्द गरेपछि भित्री दृष्टि खुल्छन् । मेरो मनमा जमेको प्रगाढ मायालुपनले मलाई प्रभावित बनाउँछ ।
मेरो हृदय क्यानभास हो त्यसभित्र तिम्रो जीवन्त आकृति सजिएको छ । जसलाई नियाल्दानियाल्दै यथार्थको धरातलबाट चिप्लिन्छु। म पुनश्चः हाम्रो जुनतारा वार्ता सम्झिन्छु ।
प्रेममा परेका मानिसले गर्ने नै यस्तै चलखेल हुन्,’ मैले सर्माउँदै तिमीसँग आँखा मिलाएर जवाफ दिएँ । तिमीले पनि प्रेमाशक्त भएर हे¥यौ । हामी लामो समयसम्म मौन भएर ती तारामा हरायौं ।
तिमी गम्भीरतापूर्वक मेरो लामो र नरम कपाल सम्याउँदै बोल्यौ, ‘यी आकाशका जुनतारा हाम्रो प्रेमका जन्ती हुन् । हाम्रो विश्वसनीयताको साक्षी । यी ताराको रमझम, यी सिताराको चमचम तिम्रै नाममा औंठाछाप गरिदिन्छु । तिमीले मलाई ढकमक्क बनायौ । आफू पनि धपक्क बल्यौ ।
ए मृगनयनी ! तिमीलाई हेर्न पाउँदा यी आँखा कहिल्यै थाक्दैनन् ।’ त्यो प्रेमाकुल परिस्थितिमा मैले पनि तिम्रो फाहाझैं केशरासी सुमसुम्याए । प्रेमको गुणस्तर वृद्धि गर्ने तत्वमध्ये सुन्दर कपाल पनि मुख्य बुँदामा पर्दो रहेछ ।
हामी अत्यधिक सद्भाव सहन नसकेर आहत भएथ्यौं । भावुकताको सर्वेसर्वा थियो र अलौकिकताको रगरगी ! तिम्रो बाहुपाशमा म अनि म भित्र तिमी । त्यो हाम्रो नैसर्गिक मिलनको चमत्कारिक मोडमा मस्तिष्क डुल्दा बहकिन थाल्छु । ‘किनभने हामी प्रेममा छौं । तिमी मेरो मार्गचिह्न हौ ।
प्रेममा परेका मानिसले गर्ने नै यस्तै चलखेल हुन्,’ मैले सर्माउँदै तिमीसँग आँखा मिलाएर जवाफ दिएँ । तिमीले पनि प्रेमाशक्त भएर हे¥यौ । तिम्रो वाक्यले म झुम्मिएँ– प्रेमका जन्ती ! कति मिठो शब्द संयोजन !
म सोच्दै छु, हामी फूलको रथ चढेर आकाशगङ्गामा यात्रा गरिरहेका छौं । जूनले ताराहरूको नेतृत्व गरिरहेका छन् ।
अनि हाम्रो वरिपरि पिलपिल गर्दै लावालस्कर लागेका छन्। यही हो प्रेममा पर्नुको नमुना र निष्कपटता। कल्पनाको स्वैरकाल्पनिक उडान ।
त्यतिबेलासम्म हाम्रा औंला मृगतृष्णाधारी भएका थिए । अविच्छिन्न रूपमा तिम्रा र मेरा मुलायम कपालका रेसारेसामा डुलिरहेथे । तिमीतिर हेर्दा नजरभरि प्रेमको व्याकरण देखिन्थ्यो ।
मलाई कण्ठ पार्न मन लाग्थ्यो । मैले बल्ल बुझेथेँ कि प्रेमको भाषा आँखाले बोल्दो रहेछ लेख्दो रहेछ । आँखाले आँखालाई गुरु बनाएर पढ्न सकिने । जब तिमिले बाटो मोड्यो भन्ने कुरा सुने ।
म पागल भए । म रोए कराए । आखिर कसले सुन्छ म रोएको । सुन्यो तक उ कसको हातबाट सिउदो भरियो भनेर । माया, चोखो मायाको सजाय यतिसम्म दिएर गयौ । बरु मलाई मारेको भए बेश हुने थियो होला तर मायाको सजाय किन यति ठुलो । यदि तिमीलाई मेरो मायामा के नै कमि थियो, भने किन पहिले नै भन्न सकेनौ ।
तिमिले मेरो माया बुज्यौ ? तिमी अरुको साथमा रमायौ खुसी भयौ होइन ? आज तिमीलाई मायाको यति प्रश्न गर्छु । मायामा न धनी न गरिब। होला मैले तिमीलाई सुनको दरबारमा राख्न सकिन होला तर मनको दरबारमा राखेको थिए नि । बिगतका कुराहरु सम्झेर म फेरि रुन चाहान्न ।
मायाको पीडा मैले भोगी सकेको छु । आखिर के फरक पाए र बिगत, बर्तमान र भबिष्यको । जहाँ गएर लगाएनी माया त आखिर माया नै हो नि होइन र माया । दुख सुखमा साथ दिनु मेरो माया हो या सहयोग त्यो मेरो कुरा हो ।
तर आज पनि म खुसी छु । जब तिमीले मेरो अतिरञ्जित संवेदनशीलता बुझ्यौ तब आफ्ना सुन्दर दन्तलहर आधा खोलेर मुस्कुरायौ। अहिले यो पत्रमा पनि तिमी त्यसैगरी मुस्कुराएको अनुभव गरेँ । तिम्रो मुस्कान घागडान स्वर्णपदक बन्यो मेरो लागि । कति दामी ! धागोमा पोते सारेझैं आफ्नै ओठमा अन्माइदिऊँ जस्तो ।
तिम्रो उपस्थितिमा बिताएका अमूल्य मिलनको पल कति यादगार है । प्रेमविभोर भएर छताछुल्ल पोखिएको छ आत्माभित्रको उहापोह । समेटेर प्रेमाकार प्रदान गर्नका लागि तिम्रो प्रतीक्षामा छु म ।
टाढा हुँदा पो थाहा हुन्छ, एकतर्फी प्रेमले मर्माहत हुनुको पीडा । साथमा सम्झनामा हराउनुको घाइते शान्ति । छिनोको चोट पाएको ढुङ्गा नै मूर्तिमा परिणत हुन्छ र पुजनीय बन्छ ।
ए कालिगड ! मलाई तिमीले प्रदान गरेको आघातसँग जुध्न मन लागेको छ । तिमीसँगै प्रेमको रणभूमिमा युद्ध गर्ने महत्वाकाङ्क्षा छ। स्मृतिले चारतिरबाट घेरा हालेपछि फुत्किनको लागि मेरो कुनै उपाय चल्दैन् ।
‘प्रेमले मलाई कल्पनाको गहिराइमा डुबाइदियो । जीवनमा परिवर्तनको रङ्गिन गलैंचा बिछ्याइदियो । आऊ तिमी र म सँगसँगै बुट्टा भरौं । मैले जिन्दगीमा शिलबन्दी गरे तिमीलाई । मैले संवेगानुभूतिमा हदबन्दी गरे तिमीलाई ।’ त्यतिबेला तिमीलाई छन्दात्मक वाणीमा विनम्र आह्वान गरेँ ।
अनुरागको महासागरमा भावुकताको जहाज चढेर हामी रागैरागको दुनियाँमा सवार भएका थियौं । तिम्रो यादले अश्रुवर्षा हुँदा हृदयको किनारा भिज्छ ।
कल्पना र यथार्थको धरातल डगमगाउँछ । विपना र सपनाले चाकाचुली खेल्छन् । अनि म तिमीमा समाविष्ट हुदै तरङ्गित भइरहन्छु । मेरो मानसिकता प्रेमको हर्ष विस्मादोन्मुख प्रतिच्छायाँमा लुकामारी खेलिरहेछ ।
यी कम्पित मुटुलाई ठेगान लगाउन मलाई तिम्रो अनि तिमीलाई मेरो मायाको ताप चाहिएको छ । मेरो वरदान ! तिमी कहिले बुझ्छौ, प्रेम शाश्वत छ, महान् छ भन्ने कुरा ? यत्रो दुरीले त पक्कै यसको शक्ति बुझ्यौ होला ।
प्रेममा एक-अर्काको अनुपस्थितिले स्मृतिलाई अझ प्रगाढ बनाउँछ र माया आफ्नो लक्ष्यमा पुग्छ । मेरो महामहिम ! तिमी जीवनकै सर्वश्रेष्ठ अनुभव हौ ।
दिउँसो, राति, भोक, तिर्खा, निद्रा मलाई छुट्याउन गाह्रो परेको छ । केवल तिम्रो ख्याल छ । शब्दको अर्थ कसरी खुल्छ भन्ने कुरा म बल्ल बुझ्दै छु । तिमी भन्नुको अर्थ त म रहेछु ।
तिमी भन्नुको अर्थ तीर्थ रहेछ । मेरो शिरको अर्थ तिम्रै सामु झुक्नका लागि रहेछ । म यो धरतीमा आउनुको कारण तिमी रहेछौ । अनि हामी बहेका थियौं निरन्तर‘ निरन्तर‘!
कति धारिलो प्रवाह थियो त्यो । मेरो अकबरी सुन ! ‘प्रेमभित्र काव्य हुन्छ, दर्शन हुन्छ, सङ्गीत हुन्छ । प्रत्येक बाजागाजामा बजिरहेको वेदनाको कैरन हुन्छ ।’ यसै भन्थे मान्छेहरू ।
अहिले अनुभव भइरहेको छ । म प्रेम सुन्छु, प्रेम हेर्छु, प्रेममा सुत्छु र प्रेम पिउँछु । क्रमशः उहीँ तिम्रो घाइते माया…….
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |