

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले राससलाई जानकारी दिनुभयो । यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो ।
केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको उहाँले बताउनुभयो । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो ।
असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो । आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
यही मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको थियो । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् ।
वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो ।
मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ । अर्बौँ रकम खर्च गरेर अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा मात्र पानी आउन थालेपछि राजधानीवासी काकाकुल हुनुपर्ने अवस्था रहेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताउनुभयो ।
आज बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्याङ्कीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिनुभयो । राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं. १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो ।
नेता सिंहसहितका नवनिर्वाचित सांसद एवं जनप्रतिनिधिको समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी स्थायीरुपमा वर्षभर नै मेलम्चीको पानी राजधानी आउने वातावरण बनाउन माग गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |