प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ सिटमा ८ जना मात्रै महिला निर्वाचित भएका छन् । समग्रमा प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुँदा संसदमा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने भएको छ। प्रमुख राजनीतिक दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार उठाउन हच्किँदा र जित्ने सम्भावना भएका ठाउँमा नउठाउँदा महिलाको उपस्थिति कमजोर बन्दै गएको छ ।
एमालेबाट कास्की २ मा विद्या भट्टराई, धनुषा ३ मा जुलीकमारी महतो (महासेठ) र बारा ३ मा ज्वालाकुमारी साह निर्वाचित हुनु भएको छ । एमालेले ११ ठाउँमा महिला उम्मेदवार उठाएका थियो । अन्यमा पराजित भइसकेका छन् । कांग्रेसले प्रतिनिधि सभामा पाँच जनालाई मात्रै उम्मेदवार बनाएकोमा अहिलेसम्म एक जना निर्वाचित भएका छन् ।
तेह्रथुममा सीता गुरुङ कांग्रेसबाट विजयी हुनुभएको हो । गएराति आएको नतिजा अनुसार उहाँले एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पराजित गर्नुभयो । गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गर्दा सुब्बाले १८ हजार ६ सय २३ मत पाउनु भयो । यस्तै, माओवादी केन्द्रमा पनि एक जना मात्रै विजयी हुनुभएको छ । दाङ २ बाट माओवादीकी रेखा शर्मा मात्रै विजयी हुनु भएको हो ।
माओवादीका चर्चित र प्रभावशाली नेतृहरु पूर्व सभामुख ओनसरी घर्ती, बहालवाला मन्त्री पम्फा भुसाललगायत पराजित भएका छन् । माओवादीले ७ जना महिलालालाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उठाएको थियो । ६ जना पराजित भइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने ललितपुर २ मा डाक्टर तोसिमा कार्की र काठमाण्डौ २ मा सोबिता गौतम निर्वाचित हुनुभएको छ ।
स्वतन्त्र पार्टीकै सुनसरी १ मा गोमा तामाङको अग्रता कायमै छ । स्वतन्त्र पार्टीले १२ जना महिलालाई उम्मेदवार बनाएको थियो । तर, अहिलेसम्म एकीकृत समाजवादी, राप्रपाबाट महिला उम्मेदवार निर्वाचित हुन सकेका छैनन् । एकीकृत समाजवादीकी रामकुमारी झाँक्री गुल्मी २ मा पराजित हुनुभयो । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्युठानमा पराजित हुनुभयो । राप्रपाले आठ जनालाई प्रत्यक्षमा उठाएको थियो । नागरिक उन्मुक्ति पार्टीबाट भने कैलाली १ मा रञ्जिता श्रेष्ठ विजयी हुनुभयो ।
प्रत्यक्षतर्फ महिला प्रतिनिधित्व कम भए पछि समानुपातिकबाट कानुनी व्यवस्था अनुसार पूर्ति गर्नु पर्ने दायित्व दलहरुमा थपिएको छ । संविधानले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने हरेक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था गरेको छ । तर, यस पटक प्रत्यक्षमा सबै पुरुष मात्रै निर्वाचित हुने र समानुपातिकमा थ्रेस होल्डसमेत नकटाउने दलको सङ्ख्या धेरै हुँदा महिलाको प्रतिनिधित्व घट्ने सम्भावना देखिएको छ ।
प्रत्यक्षमा प्रतिनिधित्व घटे पछि दलहरुलाई कानुनी व्यवस्था अनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्याउन अब समानुपातिकमा भर पर्नुपर्नेछ । समानुपातिकतर्फ दलले प्राप्त गरेको मत अनुसार अब दलहरुले प्रतिनिधित्व गराउनुपर्छ । जुन यसअघि निर्वाचन आयोगमा सिफारिस गरेको बन्दसूचीको क्रमअनुसार पूर्ति हुनेछ । निर्वाचन आयोगले चुनाव अघि नै ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको थियो । तर यो निर्देशन दलहरुले अटेरी गर्दै थोरै सङ्ख्यामा मात्रै महिलालाई उम्मेदवार बनाएका थिए ।
यस्तै, महिला सांसदहरूले पनि प्रत्यक्षतर्फ कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने माग गरेका थिए । दलहरुले जित्ने सम्भावना बलियो भएको क्षेत्रमा पुरुष नै उम्मेदवार बनाउने र नजित्ने क्षेत्रमा महिला अगाडि सार्ने गरेकोले संसदमा महिलाको उपस्थिति सधैँ कमजोर हुने गरेको महिला सांसदहरुको गुनासो छ ।-ujyalo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |