सत्तागठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको छ । यसपटकको निर्वाचनमा तीनवटा दल उदाएका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सांसद जित्दै समानुपातिकमा कम्तीमा १४ सिट ल्याउने देखिएको छ । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले तीन सांसद र एक स्वतन्त्र गरी चार सिट जितेको छ । तर ३ प्रतिशत थ्रेसहोल्ड कटाउन भने मुस्किल परेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा एक सांसद र समानुपातिकमा चार गरी पाँच सांसद हात पार्दैछ ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि एक सय ३८ सिट ल्याउन सकेका छैनन् । पाँचवटै पार्टीको प्रत्यक्ष र समानुपातिक गरी एक सय ३६ सिट जित्ने अनुमान गरिएको छ । सरकार बनाउन एक सय ३८ सिट चाहिने भएकाले सुविधाजनक बहुमतका लागि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको हो ।
सोही कारण नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदतिर नजर लगाएका छन् । उनीहरूलाई गठबन्धनमा तान्ने लक्ष्यसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरिसकेका छन् । प्रचण्डले सोमबार तथा नेपाल र भट्टराईले मंगलबार भेटेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग बिहीबार भेटवार्ता गरेका छन् । जनमतले सरकारमा सामेल हुन इच्छा देखाएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
दुई सिट रहेको प्रभु साह समूह र कांग्रेसविरुद्ध बागी उम्मेदवार दिएर चुनाव जितेका अमरेशकुमार सिंहसँग पनि गठबन्धनका नेता सम्पर्कमा छन् । तर, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने सत्तागठबन्धनले औपचारिक सहकार्यका लागि अहिलेसम्म प्रस्ताव गरेको छैन । मतगणना जारी रहेको र गन्न बाँकी तीनै सिट गठबन्धनका उम्मेदवारले जितेमा सरकार बनाउन दुई सांसद मात्र आवश्यक पर्ने र त्यो प्रभु साह वा जनमत पार्टीबाट पूर्ति हुने भएकाले जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल नभएको कांग्रेस र माओवादी नेताहरूको भनाइ छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |