












मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ ।
माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ जना, पुणेबाट चार जना, सिमलाबाट दुई जना, हल्दानीबाट दुई जना, मुम्बईबाट दुई जना, हरियाणाबाट एक जना, चण्डीगढबाट दुई जना, बैङ्गलोरबाट दुई जना र अयोध्याबाट एक जनाको उद्धार गरिएको छ ।
दुई सय ५ जनाको खोजतलासका लागि माइती नेपालमा निवेदन परेको थियो । जसमध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ ।
त्यसैगरी गड्डाचौकी नाकाबाट ८८ जना र झोलुङ्गे पुलबाट ६८ जनाको उद्धार गरिएको छ । जसमा ७५ जना १८ वर्ष मुनिका बालबालिका छन् । सीमा नाकाबाट परामर्श गरी ४९ जनालाई घर फर्काइएको छ ।
उद्धार गरिएकामध्ये दुई वटामात्रै मानव बेचबिखनमा मुद्दा दर्ता भएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनुभयो ।
“उद्धार गरिएका घटना हेर्दा धेरैजसो आफन्तबाटै बेचिएको पाइएको छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालको प्रयोग र बेरोजगारीका कारण धेरै महिला तथा बालबालिका भारतका सहरमा बेचिन पुगेका छन् ।”
उहाँले मानव बेचबिखनमा संलग्न व्यक्तिमाथि कारवाही हुन नसक्दा बेचबिखनका घटना बढ्दै गएको बताउनुभयो । “अधिकांश उद्धार गरिएका आफन्तबाटै बेचिएका हुनाले मुद्दा दर्ता गर्न मान्दैनन”, उहाँले भन्नुभयो, “केही घटनामा दलाल नचिनिने र भारतबाट नेपाल नर्फने भएकाले पनि मुद्दा दर्ता हुन सक्दैन ।”
पछिल्लो समय दलालले वैकल्पिक मार्ग अपनाउन थालेकाले पनि मानव बेचबिखनका घटना बढ्दै गएको उहाँको भनाइ छ । बेचबिखनमा पर्ने बढीजसो दलित समुदायका र घरायसी आर्थिक अवस्था कमजोर भएका समुदायबाट रहेको उहाँले जानकारी दिनुभयो ।
“मुख्यगरी गरिबी, महत्वाकाङ्क्षी, खुला सिमाना र सामाजिक सञ्जालको गलत प्रयोगले बेचबिखनमा पर्ने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “रोजगारी लगाइदिने, बिहे गर्नेजस्ता प्रलोभन देखाएर बेचबिखन गर्ने गरेको पाइन्छ ।”
यसवर्ष माइती नेपालले मानव बेचबिखनविरुद्ध दुई वटा मुद्दा दर्ता गरेको छ भने गत वर्ष एउटा मात्रै मुद्दा दर्ता गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |