






धादिङ- प्रशासनिक सिमाना हेरफेरका कारण चितवनको खैरहनीमा रहेका धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ अन्तर्गतका २०७ कित्ता जग्गाको नक्सा तथा जग्गाधनी दर्ता स्रेस्ता (मोठ) धादिङ ल्याइएको छ ।
भूमि प्रशासन कार्यालय खैरहनी र नापी कार्यालय खैरहनीले साविक लोथर गाविसअन्तर्गतका जग्गाको अभिलेख औपचारिक रूपमा भूमि प्रशासन कार्यालय र नापी कार्यालय धादिङलाई हस्तान्तरण गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको निर्णय तथा निर्देशनअनुसार प्रशासनिक सिमाना फरक परेका कारण अन्य जिल्लामा रहेका जग्गाका अभिलेख सम्बन्धित जिल्लामै सार्ने प्रक्रियाअन्तर्गत अभिलेख हस्तान्तरण गरिएको हो ।
करिब ५० वर्षदेखि जग्गासम्बन्धी कामका लागि चितवन धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीयवासी खुसी भएका छन् ।
हस्तान्तरण गरिएका जग्गा साविक लोथर गाविसका सिट नम्बर ४ (क), ४ (ग), ४ (घ) र ५ (ख) अन्तर्गतका हुन्। सिट नम्बर ४ (क) मा ७६, ४ (ग) मा २९, ४ (घ) मा ५५ र ५ (ख) मा ४७ कित्ता जग्गा रहेका छन् ।
चारवटै सिटमा गरी कुल २०७ कित्ता जग्गाका मोठ तथा नक्सा धादिङ ल्याइएको हो।
भूमि प्रशासन कार्यालय खैरहनीका प्रमुख भूमि प्रशासन अधिकृत वाचस्पति सुनुवार र खरिदार यजेन्द्रप्रसाद पौडेलले भूमि प्रशासन कार्यालय धादिङका नायब सुब्बा गोपालसिंह महता र खरिदार प्रतीक लामिछाने मगरलाई जग्गाधनी दर्ता स्रेस्ता तथा मोठ दुरुस्त अवस्थामा बुझाएका हुन् ।
त्यसैगरी, नापी कार्यालय खैरहनीका प्रमुख माधवराज ढकाल, सर्वेक्षक शिरोमणि घिमिरे र जनक पौडेलले नापी कार्यालय धादिङकी सर्वेक्षक विन्द्रा लक्ष्मी मानन्धरलाई साविक लोथर गाविसका चारवटै सिटका चार थान सक्कल नक्सा, चार थान ट्रेस नक्सा र चार थान प्लटरजिस्टर हस्तान्तरण गरेका छन् ।
उक्त क्षेत्रको फिल्डबुक भने ‘जेन्जी आन्दोलन’का क्रममा जलेका कारण हस्तान्तरण गर्न नसकिएको नापी कार्यालय खैरहनीका प्रमुख ढकालले बताउनुभयो ।
जग्गाको नक्सा र मोठ धादिङमै आएपछि स्थानीयवासीले अब कर तिर्न, जग्गा नामसारी गर्न तथा नापी र मालपोतसम्बन्धी अन्य कामका लागि चितवन धाउनुपर्ने बाध्यता अन्त्य हुने बताएका छन् ।
लामो समयदेखि यसै समस्याका कारण सास्ती भोग्दै आएका स्थानीय कृष्ण प्रजाले अभिलेख धादिङ सारिएपछि खुसी लागेको बताउनुभयो ।
‘कर तिर्न पनि चितवन आउनुपथ्र्यो। नामसारीलगायत नापी र मालपोतका सबै काम गर्न चितवन नै झर्नुपर्ने बाध्यता थियो । एकपटक आउँदा पाँचदेखि सात हजार रुपैयाँसम्म खर्च हुन्थ्यो ।
काम नसकिए बास नै बस्नुपथ्र्यो,’ उहाँले भन्नुभयो, ‘२०३३ सालदेखिको समस्या अहिले आएर समाधान भएको छ । हामी निकै खुसी छौँ । यसका लागि सबैलाई धन्यवाद।’
बेनीघाट रोराङ गाउँपालिका-२ का वडाध्यक्ष हेमराज भुजेलले करिब ५० वर्षपछि जग्गाको नक्सा र मोठ चितवनबाट धादिङ ल्याउन सफल भएको बताउनुभयो ।
जग्गा, नागरिकता, सरकारी सेवा तथा अन्य प्रशासनिक काम धादिङबाटै हुँदै आए पनि जग्गाको कर तिर्न र नामसारी गर्न भने चितवन जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
‘जग्गाको नक्सा र मोठ धादिङ ल्याउन हामीले लामो समयदेखि प्रयास गरिरहेका थियौँ । अहिले त्यो प्रयास सफल भएको छ,’ उहाँले भन्नुभयो, ‘अब करिब ४० घरपरिवारले वर्षौंदेखि भोग्दै आएको सास्ती हट्नेछ । यस अभियानमा सहयोग गर्ने समाजसेवी, राजनीतिक दल, कर्मचारी, पालिका र पत्रकार सबैलाई धन्यवाद ।’
अभिलेख हस्तान्तरणसँगै बेनिघाट रोराङ-२ का सम्बन्धित जग्गाधनीले अब जग्गासम्बन्धी सेवा आफ्नै जिल्लाबाट लिन पाउने बाटो खुलेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |