




धादिङ । भोटेकोशीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएको दुई महिना ६ दिन बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन।
पुल नहुँदा धादिङबेसी सदरमुकामसहित उत्तरी धादिङका नागरिकले सडक यातायातमा सास्ती भोग्दै आएका छन्। यसैबीच, अवरुद्ध सडक सम्पर्क सहज बनाउन फुर्केखोलामा अस्थायी रूपमा पन्टुन पुल जडान गर्ने तयारी गरिएको छ।
धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको पहल र समन्वयमा फुर्केखोलामा पन्टुन पुल ल्याएर जडान गर्ने प्रयास भइरहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो।
अध्यक्ष दनैका अनुसार राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा ल्याएर अस्थायी रूपमा जडान गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
यसैक्रममा आज सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीसहित फुर्केखोलामा पुल जडानका सम्भावना र आवश्यक प्राविधिक पक्षबारे निरीक्षण गरिने अध्यक्ष दनैले बताउनुभयो।
सबै प्रक्रिया अनुकूल भए केही दिनभित्रै पन्टुन पुल जडान गरी स्थायी पुल निर्माण सम्पन्न नहुँदासम्मका लागि यातायात सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष दनैले बताउनुभएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेसी सदरमुकामसहित उत्तरी धादिङका नागरिकलाई पृथ्वी राजमार्गसँगको सहज सडक पहुँचमा समस्या हुँदै आएको छ।
पुल बगेसँगै स्थानीयवासी तथा मालवाहक सवारीसाधनले वैकल्पिक र लामो दूरीको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ।
फुर्केखोलामा अस्थायी पन्टुन पुल सञ्चालनमा ल्याउन सके धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क सहज बनाउन ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
के हो पन्टुन पुल ?
पन्टुन ब्रिज भनेको पानीमा तैरिने अस्थायी वा स्थायी पुल हो, जसलाई नेपालीमा तैरिने पुल भनिन्छ। यो साधारण पुल जस्तो भुइँमा पिलर (खम्चा) गाडेर बनाइएको हुँदैन।
यो कसरी बन्छ?
• तैरिने आधार : यो पुल बनाउनका लागि सुरुमा पानीमा तैरिने ठूला-ठूला ड्रम, डङ्गा, वा हावा भरिएका विशेष बक्सहरू (जसलाई ‘पन्टुन’ भनिन्छ) लहरै राखिन्छ।
• माथिल्लो भाग : ती तैरिने ड्रम वा डङ्गामाथि काठ वा फलामका फल्याकहरू जोडेर मानिस वा गाडी हिँड्ने बाटो (पिच वा डेक) तयार गरिन्छ।
• सन्तुलन : पुल पानीको बहावले बगाएर नलैजाओस् भन्नका लागि यसलाई बलिया डोरी वा साङ्लाले नदीको दुवै किनारमा वा नदीको फेदमा बाँधेर स्थिर राखिन्छ।
यो निकै कम खर्चमा र छिट्टै तयार हुन्छ। आवश्यक नपरेको खण्डमा यसलाई सजिलै फुकालेर अर्को ठाउँमा लैजान सकिन्छ।नदीमा पानीको बहाव धेरै ठूलो आएमा वा बाढी आएमा यो पुल सुरक्षित हुँदैन। यसबाट धेरै भारी सवारी साधनहरू ओसारपसार गर्न मिल्दैन। केही नदीहरूमा हिउँदको समयमा आवतजावत सहज बनाउन र बर्खा लागेपछि झिक्न मिल्ने गरी यस्ता अस्थायी तैरिने पुलहरू प्रयोग गर्ने गरिन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |