

धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार खानेपानी सहलगानी आयोजना अन्तिम चरणमा पुगेको छ।
वडा नम्बर १ र २ का बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब १३ किलोमिटर मनपाङ खाेलाकाे मुहानबाट पानी ल्याएर वितरण गर्ने गरी निर्माण भइरहेको आयोजनाअन्तर्गत हालसम्म एक हजार सात सय घरमा धारा जडान गरिएको छ।
मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ साधारणसभा तथा अधिवेशनमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष सपना श्रेष्ठले आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका सल्यानटारका बासिन्दालाई घरघरमै स्वच्छ खानेपानी पुर्याउने उद्देश्यले आयोजना सञ्चालन गरिएको हो।
आयोजनाको प्रारम्भिक सर्वेक्षणका क्रममा दुई हजार सात सय घरधुरीलाई समेट्ने लक्ष्य राखिएको थियो।
अहिले आरुघाट बिशालनगर बाहेक करिब दुई हजार दुई सय ५० घरधुरीले खानेपानी उपभोग गर्न सक्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार हालसम्म एक हजार सात सय घरमा धारा जडान भइसकेको छ भने बाँकी घरधुरीमा धारा जडान गर्ने काम अघि बढिरहेको छ।
आर्थिक अभावका कारण धारा जडान गर्न नसक्ने विपन्न परिवारलाई निःशुल्क धारा उपलब्ध गराउने व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो।
सल्यानटार क्षेत्रमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले २०७५ सालमा मनपाङ खोलाको मुहान दर्ता गरिएको थियो।
त्यसपछि नेपाल सरकार र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा आयोजना निर्माण प्रक्रिया अघि बढाइएको हो।
नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत सहभागिता रहने गरी सञ्चालन गरिएको आयोजनाको निर्माणका लागि २३ करोड ८५ लाख ४९ हजार ३८७ रुपैयाँको ठेक्का सम्झौता गरिएको छ।
आयोजनाको ठेक्का प्रक्रिया २०७८ माघ २६ गते अघि बढाइएको थियो। निर्माणको जिम्मेवारी पाएको बुटवलस्थित सगुन कन्स्ट्रक्सनले हाल आयोजनाको बाँकी काम गरिरहेको छ।
अध्यक्ष श्रेष्ठले केही घरधुरीमा धारा जडान तथा निर्माणका बाँकी प्राविधिक काम सम्पन्न भएपछि आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिने बताउनुभयो।
आयोजना हस्तान्तरणपछि नियमित पानी वितरण, मर्मतसम्भार, व्यवस्थापन तथा खानेपानीको गुणस्तर कायम राख्ने जिम्मेवारी उपभोक्ता समितिमा आउनेछ।
साधारणसभामा सहभागी स्थानीय जनप्रतिनिधिहरूले खानेपानी आयोजना निर्माण सम्पन्न हुनु मात्र पर्याप्त नभई त्यसको दिगो सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देबराज धरेल, वडा अध्यक्ष कृष्ण खत्री तथा गाउँ पालिकाका पुर्व अध्यक्ष शम्भु थापा, पूर्व उपाध्यक्ष देवीकुमारी बुर्लाकोटी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
उहाँहरूले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले प्रत्येक घरधुरीमा स्वच्छ र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो।
खानेपानी वितरणमा उपभोक्ताको अधिकार संरक्षण, विपन्न तथा पछाडि परेका परिवारको पहुँच सुनिश्चित गर्ने र सरसफाइसम्बन्धी कार्यक्रमलाई समेत प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा वक्ताहरूले जोड दिनुभयो।
करोडौँ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनालाई दीर्घकालसम्म सञ्चालन गर्न उपभोक्ता समितिको संस्थागत क्षमता विकास, नियमित मर्मतसम्भार र पारदर्शी व्यवस्थापन आवश्यक रहेको पनि उहाँहरूको भनाइ थियो।
सल्यानटारका बासिन्दाका लागि महत्वपूर्ण मानिएको यो आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि घरघरमा खानेपानीको पहुँच विस्तार हुने र स्थानीय बासिन्दाले भोग्दै आएको पानीको समस्या कम हुने अपेक्षा गरिएको छ।
समितिका अध्यक्ष कृष्णकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न पाँचौँ साधारणसभा तथा अधिवेशनले आयोजनाको प्रगति, आगामी योजना तथा उपभोक्ताका सरोकारका विषयमा छलफल गर्नुका साथै नयाँ कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम रहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |