


























नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई रु १० हजारदेखि रु एक लाखसम्म कारबाही गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत गरी विधिसम्मत रुपमा प्रकाशन नहुने भित्तेपात्रो र पात्रोका सञ्चालकलाई कानुनी कारबाही गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी नेपाल राज्यभरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोको स्वीकृति दिने अधिकार समितिलाई दिएको थियो । गठन आदेश सरकारले २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशन गरेको थियो ।
समितिको स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अनुगमन गर्न मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । समितिमा गृह मन्त्रालय, आन्तरिक व्यवस्था महाशाखाका उपसचिव भीमकान्त शर्मा, संस्कृति मन्त्रालयका उपसचिव पुण्यमाया गुरागाईं, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल र पञ्चाङ्गकार मुरारीराज पाण्डे सदस्य रहेका छन् ।
समितिले आवश्यकताअनुसार उपसमिति पनि गठन गर्न सक्ने व्यवस्था दिग्दर्शनमा गरिएको छ । दिग्दर्शनमा विद्युतीय पात्रो र भित्तेपात्रोले पनि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । अनुगमनका क्रममा स्वीकृति नलिएको पाइएमा कानुनअनुसार विद्युतीय पात्रो र भित्तेपात्रोलाई पनि कारबाही गरिने समितिका कार्यकारी निर्देशक ढुङ्गेलले बताए ।
अनुगमन समितिले अनधिकृत रुपमा ७७ जिल्लाबाटै प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अध्ययन गरी सूचना सङ्कलन गर्ने भएको छ । यसका लागि संस्कृति मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्ने तयारी गरेको छ ।
समितिमा हालसम्म आगामी वर्ष २०८० का लागि एक सय ५० भित्तेपात्रोले स्वीकृति लिएका छन् । हाल अनलाइनमार्फत स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या बढिरहेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए । समितिको स्वीकृति लिएर १५ वटा पात्रो भने गत माघमै प्रकाशन भइसकेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |