

सप्तरीमा एक महिलाले बीमा रकम हात पार्न श्रीमानकै हत्या गरेको रहस्य खुलेको छ । यो घटना कञ्चनरुप नगरपालिका– ३ दास टोलको हो ।
गत कात्तिक ६ मा ३७ वर्षीय शिवशंकर दास मृत फेला परेका थिए । सुरुमा करेन्ट लागेर उनको मृत्यु भएको भनिएको थियो । तर, पाँच महिना लगाएर प्रहरीले गरेको अनुसन्धानमा ऋण चुक्ता गर्न बीमाको रकम हात पार्न श्रीमती कौशिलादेवीले नै करेन्ट लगाएर श्रीमान शिवशंकरको हत्या गरेको खुलेको छ ।
हत्या आरोपमा प्रहरीले कौशिला, देउरानी हिरनदेवी र भाउजू नाता पर्ने शान्तिदेवीलाई पक्राउ गरेको छ । हत्यामा तीनै जना संलग्न रहेको र उनीहरुले नै करेन्ट लगाएर हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार रायले जानकारी दिए ।
उनका अनुसार ऋण चुक्ता गर्न शिवशंकरको हत्या श्रीमती कौशिलाले देउरानी र भाउजू नाता पर्नेको योजनामा गरेको अनुसन्धानबाट खुलेको छ ।
कौशिलाले छोरीको विवाह गर्न र बीमा गराउन शान्तिसँग ऋण लिएकी थिइन् । तर, ऋण चुक्ता गर्न नसक्दा शान्तिले कौशिलालाई दिनरात तनाव दिँदै आएकी थिइन् ।
ऋण तिर्न नसक्ने अवस्था देखेर शान्तिले नै कौशिलालाई श्रीमानकै हत्या गर्न र त्यसपछि बीमाबाट आउने रकमले ऋण तिर्न सुझाएकी थिइन् । उनकै सुझावमा शान्ति सहमत भएको र श्रीमानको हत्या गर्ने योजना बुनेको प्रहरीले जनाएको छ ।
डीएसपी रायका अनुसार हत्या गर्ने योजनाबमोजिम शान्तिदेवीले कात्तिक ५ मा शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएकी थिइन् । नशा चढेपछि शिवशंकरलाई उनले घर पठाइन् । घर गएर सुतेपछि श्रीमती कौशिलाले बायाँ हातमा करेन्ट लगाएर हत्या गरेको खुलेको छ ।
श्रीमानलाई करेन्ट लगाउँदा कौशिलालाई देउरानी हिरनदेवीले सहयोग गरेकी थिइन् । उनको मृत्युपछि कौशिलाले नै प्रहरीमा फोन गरेर करेन्ट लागेर मृत्यु भएको खबर गरेकी थिइन् ।
हातमा तार बेरिएको अवस्थामा शिवशंकर मृत फेला परेपछि घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ । प्रहरीले अनुसन्धान गर्दा सत्य बाहिर आएको छ । घटनामा संलग्न तीनै जनामाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |