

आज असार १५,धादिङसहित देशैभर विभिन्न कार्यक्रम गरी आज २०औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ ।
यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ ।
यस वर्ष जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि मूल नाराका साथ विभिन्न सरोकारवालासँगको समन्वय तथा सहकार्यमा ‘२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ ।
यसै अवसरमा उत्पादन र उत्पादकत्व दिगो तथा उच्च कायम गर्नका लागि धान बालीमा जलवायु अनुकूलित कृषकमैत्री प्रविधिको सम्बन्धमा अधिकतम् प्रचार–प्रसार गरी राष्ट्रिय कार्यक्रमलाई सफल कृषि विभागका महानिर्देशक एवं रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा हरिबहादुर केसीले विज्ञप्तिमार्फत सबैमा अनुरोध गर्नुभएको छ ।
धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ । जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर पनि हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।
यस्ता शुभकामना निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भन्ने भनाइ छ ।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |