

काठमाडौं । हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ ।
यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ ।
धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् ।
त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहदै आएको छ ।
भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् ।
धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ ।
यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
यसवर्ष यमदीपदान भोलि अर्थात् बुधवारदेखि शुरू हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
तिथिको घटबढका कारण पर्सि बिहीवार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । बिहीवार अरुणोदयकालमा स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।
बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।
बिहीवार दिउँसो तीन बजेर १४ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि त्यसै दिन गर्नुपरेको समितिले जनाएको छ ।
गाईगोरुपूजा कात्तिक १७ गते शनिवार परेको छ । गोवर्द्धन पूजा र आत्म ९म्ह० पूजा पनि त्यसैदिन परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष नेपाल संवत् ११४५ पनि शुरू हुनेछ ।
कात्तिक १८ गते आइतवार यसवर्षको भाइटीका मनाइँदैछ । बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभसाइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
तर बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । किजापूजा पनि कात्तिक १८ गते नै गरिन्छ । तिहारको अवसरमा किनमेल, तयारी र अन्य काम शुरू भइसकेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |