

धादिङ। दशौँ धादिङ महोत्सव सुरु भएको छ ।
‘‘धादिङको दिगो विकास र समृद्धिको आधार,कृषि, पर्यटन, जलस्रोत र उद्योग’ भन्ने नाराका साथ सदरमुकाम धादिङबेसीस्थित खुलामञ्चमा बिहीबारदेखि महोत्सव सुरु भएको हो।
उद्घाटनअघि धादिङबेसी बजारमा विभिन्न जातजातिका झाँकीसहित भव्य ¥याली निकालिएको थियो ।
¥यालीमा तामाङ, नेवार, चेपाङ, गुरुङ, कुमाल, बाराम र क्षेत्री महिला समूहले आफ्ना मौलिक पहिचान झल्किने भेषभूषासहित नाचगान गर्दै बजार परिक्रमा गरेका थिए भने घोडचढी नाच, चुड्का भजन र पञ्चेबाजाको धुनले बजार क्षेत्र उत्सवमय बनेको थियो ।
महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्रको भूमिका निर्णायक रहेको बताउनुभयो ।
उहाँले निजी क्षेत्र कमजोर हुँदा राज्यको आम्दानी, रोजगारी र समग्र आर्थिक गतिविधि नै प्रभावित हुने भन्दै सरकारले निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ढकालले आर्थिक मन्दीका कारण व्यवसायीहरूले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै निजी क्षेत्र केवल नाफामुखी मात्र नभई कर तिर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य आधार भएको स्पष्ट पार्नुभयो ।
सोही क्रममा उहाँले वर्षौं देखि चर्चामा रहेको बुढीगण्डकी जलविद्युत आयोजना जसरी पनि बन्नैपर्ने आयोजना भएको भन्दै सरकारलाई तत्काल निर्णय गरेर काम अघि बढाउन आग्रह गर्नुभयो । “बुढीगण्डकी आयोजना राष्ट्रिय गौरवको आयोजना हो, यो आयोजना बनेन भने देशको ऊर्जा र औद्योगिक विकास नै प्रभावित हुन्छ,” अध्यक्ष ढकालले भन्नुभयो ।
महोत्सवकै अवसरमा बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिन हस्ताक्षर अभियान पनि सुरु गरिएको छ, जसमा प्रमुख अतिथि ढकालले हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाउनुभयो ।
कार्यक्रमका नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले यस्ता महोत्सवले स्थानीय उद्यमीलाई प्रोत्साहन गर्दै आन्तरिक पर्यटन विकासमा टेवा पुर्याउने बताउनुभयो ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सवले जिल्लाको कृषि उत्पादन, घरेलु तथा औद्योगिक वस्तु र सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई जिल्लाको आर्थिक तथा सामाजिक विकासको आधार बन्ने बताएका थिए ।
महोत्सवले गाउँगाउँमा रहेका साना उद्यमीलाई आफ्नो उत्पादन प्रदर्शन र बजारीकरण गर्ने साझा मञ्च दिएको वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले जानकारी दिनुभयो ।
महोत्सवमा ११० वटा व्यापारिक तथा ४८ वटा प्रदर्शनी स्टल गरी जम्मा १५८ स्टल रहेका छन् ।
महोत्सवका प्रमुख आकर्षणको रुपमा कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी र प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन तथा प्रतिस्पर्धा, भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम, स्थानीय तहका मौलिक उत्पादनका स्टल, जिल्ला पशुसेवा, कृषि विकास र वन कार्यालयबाट सेवा तथा परामर्श, स्थानीय परिकार तथा सांस्कृतिक खानाको प्रदर्शनी, मनोरञ्जनात्मक मेला, बाल उद्यान संगै राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्वारा दैनिक सांस्कृतिक प्रस्तुति रहनेछ।
धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा सुरु भएको महोत्सव २५ माघसम्म सञ्चालन हुनेछ ।
कार्यक्रम उद्घाटन समारोहका तस्विरको लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |