

धादिङ- भोटेकोसीमा आएको हिमपहिरोपछि आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण २७९ परिवार विस्थापित भएका छन् भने ११४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीले दुईवटा पक्की पुल र ६ वटा झोलुंगे पुल बगाएको छ।
गाउँपालिकाले सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा पुग्ने बाटो खुलाउने कामलाई प्राथमिकतामा राखिएको थियो।
त्यसपछि गाउँपालिकाले बाढी प्रभावित परिवारलाई दोस्रो दिन नै प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको थियो।
प्रभावित परिवारका घर-घरमा तीन बोरा चामल पुर्याइएको छ।
विभिन्न व्यक्ति तथा संघसंस्थाले दालमोठ, चिउरा, भाँडाकुँडालगायतका राहत सामग्रीसमेत वितरण गरेका छन्।
तर, राहत वितरण भइरहँदा बाढी प्रभावित क्षेत्रका लागि सबैभन्दा अत्यावश्यक खानेपानीको समस्या भने गम्भीर बन्दै गएको छ।
बाढीका कारण खानेपानीका पाइप, धारा, वितरण लाइन तथा शौचालयमा समेत क्षति पुगेको छ।
बैरेनी बजारमा भदौ १० गतेदेखि नै खानेपानी आपूर्ति बन्द रहेको स्थानीयले बताएका छन्।
बैरेनी बजार खानेपानी, जिन्टेटार डिप बोरिङ र जुडीखोला–बैरेनी बजार खानेपानी योजनामार्फत करिब २५० घरधुरीले प्रयोग गर्दै आएको पानी बन्द भएपछि बजारमा खानेपानीको हाहाकार भएको छ।
खानेपानी जीवन र स्वास्थ्यका लागि अत्यावश्यक भए पनि बाढीपछि राहत वितरणमा चामल, दालमोठ, चिउरा र अन्य खाद्यान्नमा ध्यान पुगेको देखिए पनि पिउने पानीको व्यवस्थापनमा भने तत्काल पर्याप्त ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ।
बैरेनी बजार खानेपानी योजनाका अध्यक्ष गोर्कण दाहालका अनुसार खानेपानीको कनेक्सन जोड्ने काम सुरु गरिएको छ।
तर बाढीले धेरै संरचनामा क्षति पुर्याएकाले पाइप तथा वितरण प्रणाली मर्मत गरी पानी नियमित सञ्चालनमा ल्याउन समस्या भइरहेको छ।
बाढीपछि शौचालय प्रयोग, हात धुने तथा सरसफाइका लागि समेत पानीको अभाव भएको छ।
लामो समयसम्म खानेपानीको व्यवस्था हुन नसके स्वास्थ्य समस्या तथा महामारी फैलिन सक्ने जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।
गल्छी गाउँपालिका उपाध्यक्ष भाइ काजी तिवारीले खानेपानीका पाइप, धारा तथा वितरण लाइनमा क्षति पुगेको विषयमा आफूहरूले तीन दिनअघि नै सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |