

एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ ।
कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँखेती गरिएको क्षेत्रफल चार हजार पाँच सय ४५ दशमलव नौ हेक्टर रहेको छ । गत वर्ष पाँच हजार ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा यस वर्ष सो क्षेत्रफल घटेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा पाँच हजार एक सय ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । गत आर्थिक वर्षमा जिल्लामा २२ हजार एक सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने उत्पादकत्व चार दशमलव तीन रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा २३ हजार दुई सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
छोटो समयमा उत्पादन लिने बालीतर्फ कृषक आकर्षित हुँदा गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको हो । धान काटेसँगै गहुँ लगाउने कृषकले चैतसम्म एउटै बालीका लागि कुर्नुपर्ने भएकाले यस खेतीतर्फको आकर्षण घटेको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुन मगरले जानकारी दिए । उनका अनुसार गहुँखेती हुने ठाउँमा अहिले कृषकले तोरी, तरकारीलगायतका खेती गर्न थालेका छन् ।
तोरी लगाउँदा चाँडो पाक्ने र राम्रो नाफा हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उनले बताए । गहुँ लगाउँदा तरकारी र मकैका लागि समय ढिलो हुने भएकाले कृषकले अन्य बाली रोज्न थालेका हुन् ।
विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा गहुँखेतीमा भन्दा तोरीखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । आव २०७७/७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा आव २०७८/७९ मा १३ हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । यस आवमा यो क्षेत्रफल बढेर १४ हजार पाँच सय ७९ हेक्टर पुगेको उनले बताए । तेलको माग बढ्नु र तोरीको मूल्यमा भएको वृद्धिले समेत यसतर्फ कृषक आकर्षित भएको उनले जानकारी दिए । यसवर्ष तोरीका लागि राम्रो मौसम भएकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |