












त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन् । विद्यार्थी सङ्गठन निर्वाचन केन्द्रीत छलफलमा जुटेका छन् ।
यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दै आफूहरु पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो । “विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दछाँै”, उहाँले भन्नुभयो, “अब हाम्रो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा पूर्ण रुपमा लाग्छ ।”
उहाँले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार स्थापित गराउने बताउनुभयो । उहाँले त्रिविले स्ववियु कार्यतालिका प्रकाशन गर्नुभन्दा अगाडि सबै विद्यार्थी सङ्गठनसँग छलफल गर्नुपर्ने बताउनुभयो ।
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनको मिति तोक्नु स्वागतयोग्य कार्य रहेको बताउनुभयो । उहाँले मिति तोकिएसँगै आफ्नो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा जुटेको बताउनुभयो । “विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तोक्नु खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “अब हामी स्ववियु निर्वाचनको वातावरण बनाउन लाग्छौँ ।” उहाँले निर्वाचनले विद्यार्थी आन्दोलनलाई लोकतान्त्रिक बाटोमा डो¥याउनेसमेत बताउनुभयो ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्णय हुनु स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले कक्षा भर्ना प्रक्रिया र नजिता प्रकाशन सबै कुरालाई व्यवस्थित गरेर निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
अनेरास्ववियुका महासचिव समिक बडालले त्रिविले स्ववियु निर्वाचनको मिति तोकेसँगै आफ्नो सङ्गठन तयारीमा जुटेको बताउनुभयो । उहाँले केन्द्रीय पदाधिकारीको बैठक बसी स्ववियु निर्वाचनमा होमिने निर्णय गरेको बताउनुभयो । “नेतृत्व निर्माण गर्ने रुपमा रहेको स्ववियु निर्वाचन गर्ने निर्णयले हामी उत्साही भएका छौँ”, उहाँले भन्नुभयो, “हामी अब हाम्रो आन्तरिक बैठक गरेर निर्वाचनमा होमिन्छौँ ।”
यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुनसकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुनसकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन ।
त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |