


























आइतबार बिहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ- नागार्जुन टोल। त्यही टोलमा बस्छन्- कुमार आले। तनहुँको बन्दीपुरमा जन्मिएका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बसिरहेका छन्।
स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन्। संयोगवश आइतबार पनि बिहानै उनी सेतीको खोँच झरे। दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार बिहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देखे र भोगे।
एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने। ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले। सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए। ‘ढुङ्गा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ’, उनले भने, ‘खोँचबाट माथि कसरी आइपुँगे आफैँलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ।’
माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उनले सुनाए। सेती खोँचमा आफू मात्रै नभई अरु चार जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको उनले बताए।
‘यति ठूलो दुर्घटना हुँदा नदी खोँचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झँदा डर लाग्छ’, उनले सुनाए, ‘परिवारका सदस्य पनि उत्तिकै डराएका छन्।’ जहाज ठोक्किएपछि खोँचमा खसेका ढुङ्गा शरीरमा लाग्दा करङमा चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले सुनाए।
नदीको दुवैतर्फ रहेका घनावस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका वस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन्। स्थानीय एवम् सिर्जना टोल विकास संस्थाका सचिव इन्द्रप्रसाद सापकोटाले भने, ‘दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेको जस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुने नै छ।’
सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। सोमबार विमानको बिहान भेट्टाइएको ब्ल्याक बक्स उक्त जाँच समितिमा बुझाइसकिएको छ। ब्ल्याक बक्स जहाजको महत्त्वपूर्ण उपकरण मानिन्छ। जसमा विमान दुर्घटना हुनुभन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन्। उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ। ब्ल्याक बक्समा इन्जिनको आवाजसँगै क्याबिन, ककपिटआदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |