


























राष्ट्रिय महिला आयोगले खोटाङका तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगले जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिक, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको विभिन्न मितिमा हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउनका लागि मन्त्रालयलाई पत्रमार्फत अनुरोध गरेको हो ।
तीन महिलाको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी गुमनाम भएको पाइएकाले दोषी पत्ता लगाउन गृह–मन्त्रालयलाई पत्राचार गरिएको राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले बताईन् । पत्रमा घटनाको सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन भनिएको छ ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । यस्तै, रिता २०७३ माघ २६ गते र ज्ञानीमायाँ २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिईन् ।
तीन महिलाको विभत्स हत्याको घटनालाई गुपचुप राखी नियतवस नै छानविन र अनुसन्धान समेत नगरेको दावी गर्दै राष्ट्रिय महिला आयोगले सो सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन पहल गर्न अनुरोध गरिएको जनाएको छ । गत पुस २७ गते राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले खोटाङमा संयुक्त रुपमा आयोजना गरेको सिड सम्वन्धी छलफल कार्यक्रममा सहभागी हुने क्रममा आयोगका कार्यबाहक अध्यक्ष पौडेल खतिवडा र प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता नलागेको विषयमा जानकारी पाएकी थिईन् ।
कार्यक्रममा सहभागीले महिलाको हत्यारामा पत्ता नलागेको विषयमा आवाज उठाएपछि कार्यबाहक अध्यक्ष पौडेल खतिवडाले ‘खोटाङमा तीन जना निर्मला पन्त’ मारिएको जानकारी मिलेको भन्दै दोषी पत्ता लगाउन गृह–मन्त्रालयलाई पत्र पठाउने प्रतिवद्धता जनाएकी थिईन् । आयोगकी उप–सचिव चमिला भट्टराईले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोटाङलाई बोधार्थ पठाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |