

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिका-४ आँखुखोलामा निर्माणाधीन जलविद्युत आयोजनाले स्थानीयको निजी जग्गामा बिना सहमति सडक निर्माण गरेको भन्दै प्रभावित स्थानीयले क्षतिपूर्तिको माग गरेका छन्।
आँखुखोला जलशक्ति हाइड्रोपावर कम्पनीले गत असार १९ गते राति स्थानीयको पुख्र्यौली जग्गा हुँदै सुरक्षा ब्यारेक जाने सडक निर्माणका लागि डोजर चलाएको आरोप लगाउँदै पीडितहरूले जिल्ला प्रशासन कार्यालय धादिङमा सामूहिक निवेदन दर्ता गरेका हुन्।
स्थानीय जयमान तामाङका अनुसार कम्पनीले कुनै पूर्वसूचना, सहमति वा क्षतिपूर्ति बिना सडक खन्न थालेको हो।
“बाजे–बराजुदेखि भोगचलन गर्दै आएको र नियमित तिरो तिर्दै आएको जग्गामा कम्पनीले एक्कासि डोजर चलायो। विरोध गर्दा झुटा मुद्दामा फसाइदिने धम्कीसमेत दिइयो,” उहाँले भन्नुभयो।
स्थानीयका अनुसार सडक निर्माणका क्रममा खेतीयोग्य जमिन, अलैँची खेती, गोरेटो बाटो तथा खानेपानीका पाइपलाइनमा क्षति पुगेको छ।
साथै हिन्दुङ सामुदायिक वन क्षेत्रमा अनुमति बिना रुख कटान गरिएको आरोपसमेत स्थानीयले लगाएका छन्। यसले बस्तीमा भू–क्षयको जोखिम बढाएको उनीहरूको भनाइ छ।
यस विषयमा हिन्दुङ सामुदायिक वन उपभोक्ता समितिले पनि डिभिजन वन कार्यालय धादिङमा निवेदन दर्ता गर्दै वन क्षेत्रको संरक्षण, क्षतिको मूल्यांकन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेको जनाएको छ।
पीडित लिलाल तामाङले कम्पनीका केही कर्मचारीले स्थानीयलाई डर–त्रास देखाउने तथा विभाजनको वातावरण सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभयो।
उहाँका अनुसार कम्पनीले केही स्थानीयलाई रोजगारीको प्रलोभनमा पारेर गाउँभित्रै विवाद सिर्जना गरेको छ।
जयमान तामाङ, दिपेश तामाङ, लिलाल तामाङलगायतका प्रभावितहरूले क्षतिपूर्ति नदिएसम्म जबरजस्ती निर्माण गरिएको सडक सञ्चालन गर्न नदिन र आफ्नो जग्गाको संरक्षण सुनिश्चित गर्न माग गरेका छन्।
नेपालको कानुनी व्यवस्था अनुसार सार्वजनिक प्रयोजनका लागि समेत जग्गा अधिग्रहण गर्दा मुआब्जा तथा आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको अवस्थामा निजी कम्पनीले स्थानीयको जग्गामा हस्तक्षेप गरेको भन्दै प्रभावितहरूले असन्तुष्टि जनाएका छन्।
यता, जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन परेपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले सम्बन्धित पक्षसँग बुझेर आवश्यक छलफल तथा समन्वय प्रक्रिया अघि बढाइने बताउनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |