

धादिङ । लगातारको वर्षापछि धादिङको ज्वालामुखी गाउँपालिकाका ग्रामीण सडक हिलाम्मे बनेपछि जनजीवन प्रभावित भएको छ।
विशेषगरी वडा नम्बर २ मैदी जोड्ने मुख्य सडकहरू अवरुद्ध हुँदा सवारी साधन सञ्चालन हुन सकेको छैन भने बिरामी बोक्ने एम्बुलेन्ससमेत गाउँसम्म पुग्न नसक्ने अवस्था सिर्जना भएको छ।
प्रतिनिधिसभाका सभामुख डिपी अर्यालको पैतृक गाउँ तथा धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको गृहक्षेत्रसमेत पर्ने मैदीमा वर्षा सुरु भएसँगै सडक सञ्जाल अवरुद्ध हुने समस्या यस वर्ष पनि दोहोरिएको हो।
स्थानीय तहको निर्वाचन भएको चार वर्ष बितिसक्दा पनि वर्षायाममा सडक सञ्चालन सहज बनाउन प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
ज्वालामुखी गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ लाई जोड्ने ससाह-अमराईँ-मैदी, पाल्पा भञ्ज्याङ-साँधभञ्ज्याङ-मैदी तथा ढोला-मैदी सडक खण्डमा अत्यधिक हिलो जमेकाले सवारी साधन सञ्चालन ठप्प भएको स्थानीय राजकुमार श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार अत्यावश्यक कामका लागि आवतजावत गर्नुपर्ने नागरिक, खाद्यान्न बोकेका बोलेरो तथा अन्य सवारीसमेत गाउँ प्रवेश गर्न नसक्दा स्काभेटर र डोजरको सहारामा वारपार गराउनुपर्ने बाध्यता रहेको छ।
सडक अवरुद्ध भएपछि गम्भीर बिरामीलाई उपचारका लागि जिल्ला सदरमुकामसम्म लैजानसमेत कठिनाइ भएको छ। ज्वालामुखी-३ को डुँडे भञ्ज्याङ, बरामगाउँ तथा वडा नम्बर ४ को पुर्सु आर्याल गाउँ जाने सडक पूर्ण रूपमा प्रभावित भएका छन्।
यस्तै, नीलकण्ठ नगरपालिका-८ अन्तर्गत पर्ने धौखोला खेत क्षेत्रको सडक पनि हिलाम्मे बनेपछि केही दिनयता मैदीतर्फको यातायात सेवा पूर्ण रूपमा रोकिएको स्थानीय सुजन सिंखडाले जानकारी दिनुभयो।
स्थानीयका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदाका कारण स्वास्थ्यकर्मी गाउँबाहिर रहने अवस्था हुने भएकाले यस्ता बेला आकस्मिक स्वास्थ्य समस्या वा महामारी फैलियो भने थप जोखिम बढ्ने चिन्ता छ।
स्थानीयवासीले वर्षेनी एउटै समस्या दोहोरिने गरेको उल्लेख गर्दै सडक निर्माण तथा मर्मतमा सम्बन्धित निकायको उदासीनता रहेको आरोप लगाएका छन्।
वर्षायाममा खोलाबाट ग्राभेल निकाल्न नपाइने कानुनी व्यवस्था र निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा समस्या झन् जटिल बन्ने गरेको उनीहरूको भनाइ छ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले ठूला सडक आयोजनाको समस्या गाउँपालिकाको एकल प्रयासले समाधान गर्न नसकिने बताउनुभयो।
निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा अहिलेको अवस्था आएको उहाँको भनाइ छ। हालका लागि सडकमा सवारी वा एम्बुलेन्स फसेमा डोजरमार्फत वारपार गराउने अस्थायी व्यवस्था गरिएको र वर्षा कम भएपछि सडक मर्मत तथा स्तरोन्नतिको काम अघि बढाइने अध्यक्ष दनैले जानकारी दिनुभयो।
धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले पनि वर्षायाममा स्थानीयले भोगिरहेको सास्तीप्रति चासो व्यक्त गर्दै दीर्घकालीन समाधानका लागि पक्की सडक निर्माण अपरिहार्य रहेको बताउनुभएको छ।
तर स्थानीयवासी भने राजनीतिक नेतृत्वबाट आश्वासन मात्रै प्राप्त भएको र वर्षेनी उही समस्या दोहोरिँदा आफूहरू मारमा परेको गुनासो गर्छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |