

धादिङ । भदौ १० गतेको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिका-६ महेशदोभानको स्वरूप नै बदलिदिएको छ।
बाढी गएको दिनदेखि आजसम्म यहाँका स्थानीयहरू आफ्नै घरभित्र पस्न सकेका छैनन्।
बाढीले महेशदोभानका साना घरहरू अधिकांश पूर्णरूपमा ढलेका छन्। घर भएका ठाउँमा अहिले बालुवा र लेदोको बगर बनेको छ।
केही ठूला घरहरू भने अझै उभिएका छन्, तर ती घरहरू पनि बस्न मिल्ने अवस्थामा छैनन्।
उभिएका घरमध्ये धेरैजसोको आधाभन्दा बढी भाग बालुवा र लेदोले पुरिएको छ। घरका झ्यालढोका बालुवाले पुरिएर बन्द भएका छन्।
झ्यालढोका खोल्न नसक्दा स्थानीयहरू आफ्नै घरभित्र छिर्न पाएका छैनन्।
महेशदोभानका एक स्थानीय नरेश खतिवडा भन्नुहुन्छ-‘घर छ, तर घरभित्र जाने बाटो छैन। महेशदोभानका प्रभावित परिवारको अहिलेको अवस्था यस्तो छ।’
केही घरका झ्यालढोका खोल्न सकिने अवस्था भए पनि भित्र रहेका सामान निकाल्दा सबैजसो नष्ट भएका छन्।
लत्ताकपडा बालुवा र लेदोले पुरिएर लगाउन नमिल्ने भएका छन्।
खाना पकाउने भाँडाकुँडा, खाद्यान्न र दैनिक जीवनमा आवश्यक पर्ने सामग्री पनि बाढीले बगाएको वा पुरिएको छ।
बाढीअघि आफ्नै घरमा सामान्य जीवन बिताइरहेका परिवार अहिले घरबाहिर छन्। न घरभित्र पस्न सक्ने अवस्था छ, न घरभित्र रहेका सामान प्रयोग गर्न सकिने अवस्थामा छन्।
बालुवाले पुरिएको घरको आँगन, भत्किएका संरचना र बगरमा परिणत भएको बस्ती हेर्दा महेशदोभानमा बाढीले कति ठूलो क्षति पुर्यायो भन्ने सहजै अनुमान गर्न सकिन्छ।
अहिले स्थानीयका लागि सबैभन्दा ठूलो चुनौती सुरक्षित बसोबाससँगै दैनिक जीवनमा आवश्यक पर्ने लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको जोहो गर्नु बनेको छ।
महेशदोभानका स्थानीयका लागि बाढी केवल एउटा प्राकृतिक विपत्ति रहेन। यसले उनीहरूको घर, सम्पत्ति र वर्षौंको मेहनतसँगै सामान्य जीवन जिउने आधारसमेत खोसिदिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |