बाग्मती प्रदेशका हरेक मन्त्रालयमा दुई हप्तादेखि मुख्यमन्त्रीको बोर्ड झुण्डिएको छ । मन्त्रालयको वेबसाइटमा नाम राखिएको छ । तर, त्यसभन्दा बाहेक मन्त्रालयका कुनै काम पनि अगाडि बढ्न सकेको छैन ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत गरी १३ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले सम्हाल्दै आउनु भएको छ । दुई हप्तादेखि मुख्यमन्त्रीले सम्हाल्दै आएका मन्त्रालयमा बोर्ड झुण्डिनुभन्दा बाहेक अरु काम हुन सकेको छैन । मन्त्रालयको वेबसाइटमा नाम राखिएको छ । तर, त्यसभन्दा बाहेक मन्त्रालयका कुनै काम अगाडि बढ्न सकेको छैन ।
गएकाे पुस २५ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि पुस २६ गते उहाँसहित र अन्य दुई मन्त्रीले शपथ ग्रहण गर्नु भएको थियो । दुई जना मन्त्री नियुक्त भए पनि एमालेका बाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मात्र मन्त्रालय तोकेर जिम्मेवारी पाउनु भएकाे छ। उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएर काम गरिरहनु भएको छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीको जिम्मेवारी लिनुभएका उद्धव थापा अहिलेसम्म विनाविभागीय मन्त्री नै हुनुहुन्छ । उहाँले कुनै पनि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छैन । भौतिक मन्त्रालयकाे अपेक्षा राख्नुभएका थापाले अब कुन् मन्त्रालय पाउनुहुन्छ भन्ने टुङ्गो दुई दिनभित्र लाग्ने बताइएको छ ।
आर्थिक मामिला मन्त्रालय बाहेकको सबै मन्त्रालय मुख्यमन्त्रीकै जिम्मेवारीमा छ । मन्त्रालय भागबण्डाको तनावले गर्दा उहाँले आफूले सम्हालेका मन्त्रालयमा पनि खास्सै काम गर्न पाउनु भएको छैन । मुख्यमन्त्री जम्मकट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर काम गर्नुपर्ने बाध्यता भएको छ ।
अब काठमाण्डौबाट हेटौँडा फर्कँदा सत्तारुढ दलहरुमा मन्त्रालयको भागबण्डा टुङ्गो लगाएर मन्त्री नियुक्त गरिने मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो । दलका शर्ष नेताहरुसँग यही विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । ११ माघसम्म भागबण्डा टुङ्ग्याएर प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा मुख्यमन्त्री जम्मकट्टेल लाग्नु भएको छ ।
अब सहमति नजिक पुगेकाले दलहरुका बीचमा मन्त्रीहरुको टुङ्गो लाग्ने प्रदेशका एमालेका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो । मुख्यमन्त्री जम्मकट्टेलसहित बाग्मतीमा शीर्ष नेताहरू यतिबेला काठमाण्डाैमा मन्त्रालयको भागबण्डा टुङ्गो लगाउनका लागि दलका शिर्ष नेताहरुसँग भेटघाटमा रहनु भएको छ।
जम्मकट्टेल, मन्त्री थपलिया, विनाविभागीय मन्त्री तथा राप्रपा संसदीय दलका नेता उद्धव थापासहितका नेताहरू काठमाण्डौमा बाग्मतीको मन्त्रिपरिषद् विस्तारलाई लिएर छलफलमा जुट्नु भएको छ । बाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसमेत छलफलमा हुनुहुन्छ ।
मन्त्री थपलियाले अहिलेसम्म भागबण्डा नटुङ्गिए पनि बाग्मतीमा दलहरूको शक्तिअनुसार मन्त्रालय बाँडफाँट हुने बताउनुभयो । दुई दिनभित्र सरकारले पूर्णता पाउने भएको छ । तर, दलहरूले सरकारमा दाबी गरेअनुसार भागबण्डा मिलाउन मुख्यमन्त्री जम्मकट्टेललाई कठिनाइ भइरहेको छ ।
बाग्मतीमा सरकारलाई समर्थन गरेका पाँचवटा दलले १४ वटा मन्त्रालयमा दाबी गरेका छन् । तर, जम्मकट्टेल भने १४ वटाबाट मन्त्रालय सङ्ख्या ११ वटा बनाउने योजनामा हुनुहुन्छ । जसका लागि उहाँले कार्यदल गठन गरेर मन्त्रालय सङ्ख्या घटाउन खोज्नु भएको हो ।
सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेले पाँच वटा, नेकपा माओवादी केन्द्रले चार वटा, एकीकृत समाजवादी र राप्रपाले दुई/दुई वटा, हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालयकाे दाबी गरेका छन् ।-ujyalo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |