निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति नतोक्दै उम्मेदवार को हुने भन्ने आन्तरिक चर्चा सुरु भएको छ। सत्ता गठबन्धनमा आबद्ध दलमध्ये नेकपा एमालेका भागमा राष्ट्रपति परेकाले त्यहाँ दुई पात्र बढी नै चर्चामा छन्। राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।
सभामुख चयनसँगै दलहरूको ध्यान राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित भएको छ। सत्तामा भएका र बाहिर रहेका दलहरूले आफ्नो दलको प्रतिनिधित्व हुने गरी राष्ट्रपति बनाउनेतर्फ चासो दिइरहेका छन्। सत्ता गठबन्धन दलहरूले आफूबीच भएका सहमतिहरू अहिलेसम्म परिपालना गरेका कारण एमालेका तर्फबाट अघि सारिने उम्मेदवारलाई राष्ट्रपतिको निर्वाचन जित्न सहज हुने देखिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवार उठाउने जनाइसकेको छ। फागुनभित्रै देशले नयाँ राष्ट्रपति पाउनुपर्ने भएकाले पनि अहिलेबाटै एमालेभित्र र बाहिर राष्ट्रपतिका लागि सम्भावित विभिन्न व्यक्तिको चर्चा सुरु भएको हो। अब बन्ने राष्ट्रपति चौथो कार्यकालका लागि चयन हुनेछन्। पहिलो कार्यकाल रामवरण यादव राष्ट्रपति पदमा आसीन रहे भने दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी अहिले तेस्रो कार्यकालका लागि राष्ट्रपति छिन्। उनको पछिल्लो कार्यकाल यही फागुनमा सकिँदैछ।
बुधबार एमाले पार्टी कार्यालयमा स्कुल विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर बाहिरिने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचन र पात्रबारे कुनै टिप्पणी गर्न चाहेनन्। उनले सञ्चारकर्मीलाई यो विषयमा नजिस्काउन आग्रह पनि गरे। ‘यो विषयमा बारम्बर मलाई नजिस्काउनुस्,’ अध्यक्ष ओलीले भने। सभामुखको निर्वाचन सकिएपछि एमालेकै व्यक्ति राष्ट्रपति हुने तर पात्र भने अहिले नभन्ने भन्दै उनी पन्छिए। ओलीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमति हुने बताउँदै आएका छन्।यो समाचार आजको नागरिक दैनिकमा छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |