बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहनुभएको छ । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उहाँले बताउनुभयो ।
“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ”, उहाँले भन्नुभयो, “उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ ।”
राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्नुभएको छ । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ । उहाँ सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गर्नुभएको छ । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न सक्नुहुन्छ ।
“ राहुल विक मेरो भैँसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो”, कुरिलाखर्कका सुरेस ढुङ्गानाले भन्नुभयो, “उहाँ काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ ।”
ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्नुहुन्छ । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ । उहाँलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ ।
रातमा चितुवाको समेत डर छ । कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताउनुभयो । “ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो”, उहाँले भन्नुभयो, “अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।”-रासस
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |