

धादिङ,०३ पौष ।
आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, दिवसका अवसरमा धादिङ सहित देशैभर बिभिन्न कार्यक्रम गरि मनाईएको छ ।
दिवसको अवसरमा आज निलकण्ठ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन परियोजना(सामी)को आयोजनामा भएको कार्यक्रममा बैदेशिक रोजगारीको अवस्था, बिदेशिएकाहरुको अवस्था, समस्या लगायतका बिषयमा छलफल भएको थियो। कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले धादिङमा सन्चालन गरेको बिभिन्न प्रगति विवरणहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले पछिल्लो समय युवाहरु विदेशिने क्रम बढेको भन्दै नेपालमै बसेर स्थानीय स्रोत साधनलाई उपयोग गरि स्वरोजगार हुन आग्रह गर्नुभयो ।
नीलकण्ठ नगरपालिकाले युवाहरुलाई स्थानीय निकायमै रहेर उत्पादन केन्द्रित बनाउन विभिन्न सिपमुलक तालिम, बिउ पुजी अनुदान उपलब्ध गराउन नगरपालिकाले १ करोड ३० लाख बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले वैदेशीक रोजगारमा जान चाहनेहरुको लागि बहुउद्धृेश्य तालिम केन्द्र स्थापना गर्नको लागि नगरपालिकाले बजेट छुट्याएर अगाडी बढिरहेको पनि बताउनुभयो ।
नेपालमा ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यसवर्षको दिवस मनाइएको छ ।आप्रवासी श्रमिक दिवसका अवसरमा नेपालमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् ।
आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरू माथि हुन सक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तीनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्ताबेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।
पुस ७ गतेसम्म विभिन्न कार्यक्रम हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सन् २०२२ मा प्रकाशित गरेको माइग्रेसन रिपोर्ट अनुसार संसारभरि २८ करोड ५९ लाख मानिसहरू आप्रवासी श्रमिकको रूपमा रहेका छन् ।
नेपालको कुल ग्रार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्म ५० लाख ८ सय ३३ जना वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्म वैदेशिक रोजगारीको क्रममा १० हजार ९ सय ३२ जनाको रोजगारीकै क्रममा ज्यान गएको छ । दुई हजार १ सय २५ जना गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |