

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी हो ।
चालु आवमा मुद्रास्फीति सात प्रतिशतभन्दा न्यून विन्दुमा राख्ने सरकारको लक्ष्य छ । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५ दशमलव तीन प्रतिशत र अमेरिकी डलरमा १४ दशमलव आठ प्रतिशतले बढेको छ । यही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा कूल विदेशी विनिमय सञ्चिति रु १४ खर्ब एक अर्ब २१ करोड बराबर रहेको छ ।
अहिलेको विदेशी विनिमय सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आठ महिना अवधिमा सङ्घीय सरकारको खर्च रु सात खर्ब ७९ अर्ब २३ करोड र राजस्व परिचालन रु पाँच खर्ब ८२ अर्ब ७७ करोड बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय पाँच दशमलव तीन प्रतिशतले बढेको छ ।
वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले बढेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन पाँच दशमलव पाँच प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १० दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव एक प्रतिशत बराबर हो । फागुन मसान्तसम्ममा आयात १९ दशमलव एक प्रतिशतले, निर्यात २९ दशमलव एक प्रतिशतले र कूल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले घटेकोछ ।-रासस





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |