

धादिङ,१० श्रावण।
धादिङमा आत्महत्याको दर बढ्न थालेको तथ्यांकले देखाएको छ।विगत पाँच बर्षको तथ्याङकलाई हेर्दा प्रत्येक बर्ष आत्महत्या गर्नेको संख्या बढीरहेको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङकले देखाएको छ।
बागमती प्रदेशका १३ जिल्ला मध्ये आत्महत्या गर्ने जिल्लामा धादिङ एक नम्बरमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आर्थिक बर्ष २०७५/७६ मा ९३ जना, आर्थिक बर्ष २०७६/७७ मा ९४ जना, आर्थिक बर्ष २०७७/७८ मा १४२ जनाले आत्महत्या गरेका थिए।
त्यस्तै आर्थिक बर्ष २०७८/७९ मा केही घटेको थियो। आर्थिक बर्ष २०७८/७९ मा आत्महत्या गर्नेको संख्या ९७ थियो ।गत आर्थिक बर्ष २०७९/८० मा ११२ जनाले आत्महत्या गरेका छन् ।
आ.व. २०७९/८० मा धादिङमा झुण्डिएर ९० जना, विष सेवन गरेर १५ जना, धारिलो हतियार प्रयोग गरी १ जना र पानिमा हाम फालेर ६ जना गरी ११२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बागमती कलमलाई जानकारी दिनुभयो।
आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढि रहेका छन् ।जसमा महिलाको संख्या ४३ र पुरुषको संख्या ६९ जना रहेको छ।सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने गरेका तथ्याकंले देखाउँछ ।
आत्महत्या गर्नेहरुले विभिन्न कारणवश आत्महत्या गर्ने गरेको प्रहरी नायव उपरीक्षक जैसवारले बताउनुभयो।
जैसवारका अनुुसार गत बर्ष पारिवारिक वेमेलका कारण ९ जना, आवेशमा १ जना, नैराश्यता/मानसिक/दिर्घ रोगका कारण ३९ जना, मानसिक तनाव/असन्तुलनका कारण ६० जना, प्रेममा धोकाका कारण २ जना र दिर्घरोगका कारण १ जनाले आत्महत्या गरेका छन् ।
प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार सबैभन्दा बढि २६–३५ बर्ष उमेर समुहका २८ जनाले आत्महत्या गरेका छन् । १८–२५ बर्ष उमेर समुहका २३ जना, ४६–६० बर्ष उमेर समुहका २२ जना, ६० बर्ष माथी उमेर समुहका १६ जना, ३६–४५ बर्ष उमेर समुहका १४ जना र १०–१८ बर्ष उमेर समुहका ९ जना रहेका छन्। यो तथ्याकं गत आर्थिक बर्ष २०७९/८० को हो ।
जिल्लामा भएको आत्महत्याको घटनालाई वैवाहिक स्थितिको अवस्थाका आधारमा विश्लेषण गर्दा विवाहितले नै बढी आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जैसवारले बागमती कलमलाई बताउनुभयो।
यस्तै समयका आधारमा विश्लेषण गर्दा विहानको समयमा आत्महत्या गर्नेको सङ्ख्या बढी देखिएको छ । ६–६ घण्टाको अन्तरमा समय राखेर गरिएको विश्लेषणमा विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म आत्महत्या गर्नेको सङ्ख्या बढी देखिएको प्रहरीले जनाएको छ।
मानिसले किन आत्महत्या गर्छन?
प्रियजन गुमाउदा, जागीर गुम्दा, दिर्घ रोग लाग्दा, व्यापार विग्रदा, जीवनमा अकल्पनीय परिवर्तन हुदा, आघात यातना वा हिंसा र सामाजिक बहिस्कृतको कारणले मानिसहरु आत्महत्या गर्ने समेतको निर्णय लिने गरेका धादिङको नीलकण्ठ नगरपालिकाद्धारा सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रमका मनोविमर्शकर्ता रामकुमार थापाको भनाई छ।
पछिल्लो समय बैदेशिक रोजगारको कारण पनि आत्महत्या बढ्नुको कारण बनिरहेको थापाले बताउनुभयो । आत्महत्या गर्ने धेरै जनाले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको भन्दै उहाँले आत्महत्या गर्ने जोखिम भएकाहरुलाई तत्काल उपचारमा लानुपर्ने थापाको भनाई छ । आत्महत्या गर्न चाहने व्यक्तिले बाँच्नुमा भन्दा मर्नुमा फाईदा देखेको कारणले आत्महत्या गर्ने निर्णय गर्ने गरेको भन्दै उहाँले त्यस्ता व्यक्तिलाई मायाँ, हौसला, सहयोग गर्नुपर्ने बताउनुभयो ।
कसरी पहिचान गर्ने?
आत्महत्या गर्ने नब्बे प्रतिशत भन्दा बढीले योजना बनाएर आत्महत्या गर्ने गरेको तथ्याङकले देखाएको छ । बाँकि १० प्रतिशतले मात्र एकछिन रिस खप्न नसकेर वा आवेगमा आएर मर्ने गरेका छन् ।
मर्ने मानिसले आफ्नो परिवार तथा साथिभाईहरुलाई कुनैन कनुै माध्यमबाट अभिव्यक्त गरेका हुन्छन्।साथै व्यावहारीक समस्या समेत देखीने गर्छ । जस्तै एक्लै बस्ने,दिक्क मान्ने, विरक्त मान्ने, रमाईलोमा नजाने, कोठाभित्र बसीरहने, मर्ने कुरा गर्ने वा त्यस्तै विचारहरु सामाजिक सञ्जालमा पोष्ट गर्ने, जिन्दगीनै के रहेछ र भन्ने, आफुसँग भएको बहुमुल्य बस्तुहरु अरुलाई दिन थाल्यो, कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन् । मेरो कोही छैन, म के को लागि बाच्ने भन्ने शव्दहरु व्यक्त गर्ने गरेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |