

धादिङ,२१भदौ। बागमती प्रदेश सरकारले धादिङसहित तिन जिल्लामा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा धादिङ, चितवन र मकवानपुरमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते न्वागी (छोनाम) मनाउँदै आएका छन् ।चेपाङ संघले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल क्षेत्रमा न्वागी मनाउँदै आएका छन्।चेपाङहरूले आफ्नो प्रमुख चाडको रुपमा छोनाम न्वागीलाई मान्छन् ।
भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् । यस दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ ।
चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाँक्री (पाण्दे) हरुले एकपाखे ढ्यांग्रोे ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।
छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् ।
भेला भएर ढ्यांग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने गर्दछन् ।सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।
चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत श्रृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङहरुको घना बसोबास छ ।
यद्यपि चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै राखिएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |