

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो ।
सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार सुनकोसीले ३८ बिरामीलाई छ महिनाको रु ३० हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए ।
गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत सबैसँग निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । गाउँपालिकाले त्रैमासिकरूपमा बिरामीको खातामा पैसा जम्मा गर्न थालेको छ । अहिले साउनदेखिकै रकम प्रदान गरिएको र पछि आउने बिरामीलाई उनीहरूको कागजपत्रका आधारमा रकम प्रदान गर्ने दुलालले बताए ।
मेरुदण्डको पक्षघातबाट पीडित भएकी सुनकोसी–५ की सरिता थामीले पनि उपचारका लागि मासिकरूपमा रु पाँच हजार स्थानीय सरकारबाट पाउँदा खुसी लागेको बताइन् । सुनकोसी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिका स्थायी ठेगाना भएका र मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । गाउँपालिकाले यही माघ तेस्रो सातादेखि चारै रोगका बिरामीलाई सम्बन्धित वडा, स्वास्थ्यचौकी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत बिरामीले नियमित सेवन गर्दै आएको औषधि नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
गाउँपालिकाभित्र यी रोगका बिरामीले नियमित सेवन गरेको औषधिको विवरण प्राप्त भइसकेको र औषधि ल्याउने अन्तिम चरणमा रहेकाले माघभित्र नै सबै बिरामीको घर–घरमै औषधि पुर्याउन गाउँपालिकाले कार्यक्रम बनाएको अधिकृत दुलालले जानकारी दिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |