

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११ बजेर ३६ मिनेट तोकिदिएको छ ।
परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो ।
दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा। बासुदेव कोइरालाले टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताए ।
टीका लगाउनुअघि केके गर्ने ?
दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।
दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ ।
दैलामाथि टीका लगाउने गरिन्छ । हाम्रो घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ ।
साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि ११ बजेर ३६ मिनेटमा उत्तम साइत छ । कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ । पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ ।
बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा पर्दैन । ‘त्यसैले टीकाको साइतको दुविधा नपाले हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।डा।देवमणी भट्टराईले भन्नुभयो।
अहिले त कतिपयहरुलाई दशैंको दिन ढिलोगरी नेपाल आउन पाउने बाध्यता पनि बन्न सक्छ । त्यस्तो अवस्थामा समेत साइत गुज्रिएकाले दुविधा पाल्नु पर्दैन । जतिबेला भएपनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्नु उपयुक्त हुन्छ ।-अनलाईन खबर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |