

नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् ।
विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच हजार छ सय २८ उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ । यी उद्योगमा हालसम्म कूल रु चार खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत कात्तिकमा मात्र विभागले रु तीन अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो ।
यद्यपि, लगानी प्रस्ताव गरेका उद्योगको सङ्ख्या र रकम भने निकै बढी छ । गत असार मसान्तसम्ममा मात्र आठ हजार सात सय ६४ उद्योगका लागि कूल रु २६ खर्ब २७ अर्ब बराबरको लगानी प्रस्ताव भएको देखिन्छ । तर वैदेशिक लगानी प्रस्तावको तुलनामा लगानी स्वीकृत भएको रकम भने १६ प्रतिशत बराबर मात्रै हो ।
लगानी स्वीकृत भएकामध्ये सेवामूलक र पर्यटनका क्षेत्रका उद्योग बढी छन् । गत कात्तिक मसान्तसम्ममा सेवामूलक क्षेत्रमा एक हजार आठ सय ६७ र पर्यटन क्षेत्रमा एक हजार आठ सय ५५ प्रस्ताव स्वीकृत भइसकेको विभागले जनाएको छ । त्यस्तै, हालसम्म प्रस्ताव स्वीकृत भएका उत्पादनमूलक उद्योग एक हजार दुई सय ६९, ऊर्जामूलक उद्योग ९१, कृषिमूलक दुई सय ९५, खनिजमूलक ७२, पूर्वाधार उद्योग ५५ र सूचना प्रविधि उद्योग एक सय २४ छन् ।
हालसम्म वैदेशिक लगानी स्वीकृत भइसकेका उद्योगमध्ये ठूला उद्योग तीन सय २३, मझौला उद्योग छ सय २२ र साना उद्योग चार हजार छ सय ८३ छन् । त्यस्तै, हालसम्म वैदेशिक लगानी भित्रिएका साढे पाँच हजारभन्दा बढी कम्पनीबाट दुई लाख ९७ हजार नौ सय ३५ जनाले रोजगारी पाएको पनि विभागको विवरणमा उल्लेख छ ।
विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र उनीहरूको परिवारका सदस्यलाई विदेशी लगानी स्वीकृत भएपछि लगानीका आधारमा उद्योग विभागले व्यावसायिक राहदानी उपलब्ध गराउँदै आएको छ । विभागले गत कात्तिकमा मात्र चार सय ५९ विदेशीलाई राहदानीका लागि सिफारिस गरेको देखिन्छ । नेपालमा वैदेशिक लगानी गरेका लगानीकर्ता तीन सय ३७, वैदेशिक लगानीकर्ताका प्रतिनिधि तीन र आश्रित भिसा ८९ जनालाई उपलब्ध गराइएको विभागले जनाएको छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार रु ६ अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुन्छ । त्योभन्दा माथिको लगानी भने लगानी बोर्डको कार्यालयले स्वीकृत गर्ने प्रावधान रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |