धादिङ । सदरमुकाम धादिङबेशीमा आजदेखी लाखे जात्रा सुरु भएको छ ।
आज नीलकण्ठ-३ बिचबजार चोकस्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बागमती कलमलाई बताउनुभयो ।
झिंगु नेवाः समाज धादिङको आयोजनामा कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्ने र पछिल्लो पुस्तामा पुर्याउने उद्देश्यले जात्राको आयोजना गरिएको श्रेष्ठले बताउनुभयो ।
जात्रामा सहभागीहरूलाई टीका प्रसाद ग्रहण गरिएको थियो । अन्य समयमा रोक लगाइएको, तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुनसमेत सहभागीहरूलाई दिएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका थिए ।
जात्राको शुभारम्भमा पियानो किबोर्ड, धा बाजा बजाएर लाखेनाच लगाइएको थियो ।
लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो ।
यस पर्वलाई जोगाई राख्न विगत वर्षहरुमा पञ्चेबाजा बजाएर मनाइने गरिएपनि पोहोरबाट नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यस्तै भाद्र ४ गते गाइजात्राको अवसरमा विहान ७ः३० बजे यस वर्ष मृत्यु हुनुभएका ६ जना नेवार समुदायका मृतकको फोटो सहित गाई निकालिने, दिउसो २ः०० बजे देखि मृतक परिवारको घरसम्म लाखे सहित गाई जात्रा परिक्रमा गरिने, ५ गते हिले जात्राको दिन दिउसो २ः०० बजे देखि धादिङबेसी बिचबजार क्याम्पस चोक देखि साघुटार पुल्चोकसम्म खेत रोपाइको अभिनय गर्दै लाखे सहित परिक्रम गरिने उहाँको भनाई छ ।
यसैगरी भाद्र ११ गते दिउँसो २ः०० बजे देखि सुगमटोल स्थित श्री राधाकृष्ण मन्दिरबाट भगवान श्री कृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रमा गरिने,भाद्र २१ गते हरितालिका तिजको अवसरमा धादिङ बेसी बिच बजार चोकमा लाखे नाच नचाइने र भाद्र २२ गते विहान ७ः३० बजे बिचबजार चोक स्थित गणेश मन्दिर अगाडी लाखे जात्रा विधिवत रुपमा यो वर्षको लागि समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेवार समुदायको विशेष जात्राको रुपमा लाखे जात्रा जिल्लाको प्रमुख बजारहरु तथा निलकण्ठ नगरपालिकाको वडा न ३ को शितलबजार बजार लाखे समुह र धादिङबेसी लाखे समुह, वडा नं. ५ को फ्याक्से, वडा न ६ को सुनौलाबजार, वडा नं. ११ को ज्यामरुङ दरबार र सिम्ले बजार, वडा नं. १४ को भंगेरीस्थान र अम्बोटेमा हुने भएकोले हरेक जात्रा हुने दिन दिनको २ः०० बजे देखि राति ९ः०० बजेसम्म सञ्चालन हुने भन्दै स्थानिय प्रशासन, नगरपालिका, तथा सम्पूर्ण धादिङबासी जनसमुदायहरुलाई सहयोग र सहभागिताको लागि श्रेष्ठले अनुरोध गर्नुभयो ।
जात्रामा सबैलाई उपस्थित भइदिन झिंगु नेवा समाज धादिङका सचिव सन्तोषराज श्रेष्ठले आग्रह गर्नुभयो । यो जात्रा राष्ट्रिय जात्रा हो । कला, संस्कृति तथा परम्परा जोगाइराख्न मनाउने गरिएको जात्रामा सबै जातजाति, समुदाय यो जात्रामा उपस्थित भइदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
यसरी शुभारम्भ गरियो लाखे जात्रा ।। हेर्नुहोस् भिडियो…
लाखे नाच (लाखे जात्रा) को यस्तो छ,धार्मिक विश्वास
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् ।
प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठ्माडौँमा देखाइन्छ । मुख्यतया, नवदुर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ।
कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ ।
राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ ।
कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ ।
लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ ।
नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा पनि लाखे नाच जिल्लाभर प्रचलित नै छ । नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौं स्थानमा भने यस नाचले थोर बहु आफ्नो स्थान ओगटेकै छ ।
नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत पनि हराउदै गरेको महुस गरिएको छ ।
मुख्यगरी कृष्णजन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको देखि बिदेशी पर्यटकको पनि उतिक घुइँचो लाग्ने गर्दछ ।
लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ ।
टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्चर बनाएको केटाकेटीहरुले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक तथा अनौठा लाग्न सक्छ ।
लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |