

धादिङ । देशको लाइफलाइन मानिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन धमाधम काम भइरहेको छ।
त्रिशूली नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा तलबाट सडक भासिएपछि भदौ १४ गतेदेखि कृष्णभीरमा सडक अवरुद्ध छ ।
सडक सञ्चालनमा ल्याउन पाँच दिनदेखि निरन्तर काम भइरहेको छ ।
हाल ट्र्याक छिचोलिएको छ भने भासिएको सडकको कुनापट्टिबाट सडक चौडा बनाउने काम भइरहेको छ ।
सडक मर्मतका लागि सानाठूला गरी दैनिक ७ देखि ९ वटा डोजर परिचालन गरिएको छ ।
यही गतिमा काम निरन्तर अघि बढेमा अबको करिब १० दिनमा कृष्णभीरमा सडक मर्मत गरी सवारी आवागमन सञ्चालन गर्न सकिने नागढुंगा-मुग्लिन सडक आयोजनाका कन्सल्ट्यान्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो ।
कृष्णभीरमा करिब तीन सय मिटर लम्बाइ र ४० मिटर उचाइबाट सडक डाउन गर्नुपर्ने भएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन रहेको आयोजनाका प्राविधिकहरूको भनाइ छ ।
सडक सञ्चालनका लागि काम भइरहे पनि सडक खन्ने भू-भाग कमजोर भएकाले सडक खुलेपछि पनि तत्कालै पूर्ण रूपमा सुरक्षित रूपमा सबै प्रकारका सवारी सञ्चालन गराउन चुनौती रहेको बताइएको छ ।
कृष्णभीरको अवरोधका कारण पश्चिमबाट काठमाडौं आउने र काठमाडौं हुँदै पश्चिमतर्फ जाने ठूला यात्रुवाहक बस तथा मालवाहक सवारीको नियमित आवागमन प्रभावित भएको छ ।
सडक अवरुद्ध हुँदा यात्रु तथा व्यवसायी प्रभावित हुनुका साथै दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत प्रत्यक्ष असर परेको छ ।
कृष्णभीरसँगै पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-३ को सितलबजार, गजुरी गाउँपालिका-२ को परेवाभिर, छहरा, विहानी पम्प क्षेत्र तथा गजुरी गाउँपालिका-५ को बाङ्गे लगायतका स्थानमा समेत राजमार्ग अत्यधिक जोखिममा रहेको छ ।
जोखिमयुक्त स्थानमा सडक मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत यातायात सञ्चालन गराउने प्रयास भइरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |