

धादिङ- चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको प्रभाव धादिङमा समेत ठूलो परेको छ।
बाढीका कारण जिल्लाका विभिन्न स्थानमा सडक, पुल, बजार तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने त्रिशूली नदी किनारका विभिन्न ठाउँबाट १८ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बाढीले धादिङबेँसीलाई पृथ्वी राजमार्ग तथा अन्य मुख्य शहरसँग जोड्ने महत्वपूर्ण मलेखु-फुर्केखोला पुल बगाएपछि सदरमुकामसहित उत्तरी धादिङको आवागमन प्रभावित भएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार फुर्केखोलासहित घाटबेँसी, जहरे, जिन्टेटार तथा गल्छी गाउँपालिका र नुवाकोट जोड्ने गरी पाँचवटा पक्की पुल बाढीले बगाएको छ।
यसैगरी जिल्लाका विभिन्न स्थानमा रहेका चारवटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।
बाढीको पानी र लेदोका कारण बैरनी बजार, महेश दोभान, गलौदी र विहानी पेट्रोल पम्प प्रभावित भएका छन्।
दुईवटा मन्दिरमा क्षति पुगेको तथा गल्छीमा रहेको निर्वाचन अधिकृतको कार्यालयसमेत बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो।
भौतिक संरचनामा व्यापक क्षति भए पनि पूर्वसूचना र उच्च सतर्कताका कारण धादिङमा बाढीबाट प्रत्यक्ष मानवीय क्षति हुन नपाएको प्रशासनको भनाइ छ।
बाढीको सूचना पाएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरिएको थियो।
यसैबीच, त्रिशूली नदी किनारका विभिन्न स्थानमा भेटिएका १८ शवमध्ये केही बाढीमा बगेर आएका हुन सक्ने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार मलेखु क्षेत्रमा बालुवा चाल्ने क्रममा फसेका तीन जनाको समेत उद्धार गरिएको छ।
उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।
बाढी र पहिरोका कारण धादिङ खण्डमा पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ।
बैरनी, आदमघाट, जहरे, बाड्गे र जवाङ खोला क्षेत्रमा लेदो तथा माटो सडकमा थुप्रिएपछि यातायात ठप्प भएको हो।
सडक खुलाउन लेदो हटाउने काम भइरहेको र अवस्था अनुकूल रहेमा राजमार्ग सञ्चालनमा ल्याउन सकिने प्रहरीले जनाएको छ।
सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य पुल बगेपछि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन नदिन प्रशासनले तयारी थालेको छ।
गल्छी र बेनीघाटतर्फका वैकल्पिक सडक प्रयोग गरी सदरमुकामसँगको सम्पर्क कायम राख्न आग्रह गरिएको छ।
गल्छी गाउँपालिकामा मात्रै ३५ घरधुरी प्रभावित भएको गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिनुभयो।
उहाँका अनुसार १० वटा घर पूर्ण रूपमा बगेर बस्न नमिल्ने अवस्थामा पुगेका छन् भने अन्य घरमा लेदो पसेकाले सरसफाइपछि बस्न सकिने अवस्था रहेको छ।
घरमा बस्न नसक्ने अधिकांश प्रभावित आफन्तको आश्रयमा पुगेका छन्। आफन्तको घरमा बस्ने व्यवस्था नभएका केही परिवारलाई भने गल्छीस्थित बागेश्वरी माध्यमिक विद्यालयको नयाँ भवनमा अस्थायी रूपमा राखिएको गाउँपालिकाले जनाएको छ।
बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि धादिङका उत्तरी क्षेत्र र सदरमुकामबीचको नियमित आवागमन तथा आपूर्ति व्यवस्था प्रभावित भएको छ।
प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले उद्धार, सडक खुलाउने तथा प्रभावितको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |