

धादिङबेसी बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित गतिविधिले सर्वसाधारणलाई दैनिक सास्ती बनाएको छ। सदरमुकामको मुख्य सडक अहिले व्यापारिक गतिविधि र सवारी व्यवस्थापनको कमजोरीका कारण झनै अस्तव्यस्त बन्दै गएको देखिन्छ।
बजार क्षेत्रका धेरैजसो व्यवसायीहरूले पसल अगाडि नै मालवाहक सवारी रोक्दै सडकमै सामान लोड–अनलोड गर्ने प्रवृत्ति बढ्दो छ। विशेषगरी बिहानको कार्यालय समय र दिउँसोको व्यस्त समयमा ट्रक र अन्य गाडी सडकको आधा भाग ओगटेर घण्टौंसम्म राखिँदिदा र अव्यवस्थित पार्किङले पैदलयात्री र सवारी साधन दुवैलाई आवतजावतमा समस्या पर्ने गरेको छ। पुछारबजार, साँघुटार जस्ता अत्यधिक भीड हुने क्षेत्रमा यस्तो समस्या झनै गम्भीर रूपमा देखिएको छ।
स्थानीयवासीका अनुसार खाद्यान्न, ग्यास, फेन्सी र हार्डवेयर पसलहरूले समेत सडकलाई अस्थायी गोदामजस्तै प्रयोग गर्दा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत कठिन भएको छ। उनीहरू भन्छन्—मुख्य सडकमा यस्तो गतिविधि पूर्ण रूपमा नियन्त्रण गरी बजारभन्दा बाहिर छुट्टै स्थानमा लोड–अनलोडको व्यवस्था गर्न आवश्यक भइसकेको छ।
यता, बजारभित्र सञ्चालन हुने म्याजिक, जिप लगायतका साना सवारी साधनको लापरबाहीले समस्या थप जटिल बनाएको छ। यात्रु चढाउने र ओराल्ने क्रममा सडकको बीचमै गाडी रोकिने, अचानक ब्रेक लगाइने जस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाएको स्थानीयको गुनासो छ। “कुन गाडी कहाँ रोक्छ भन्ने अनुमानै हुँदैन, जेब्रा क्रसिङको पनि वास्ता हुँदैन,” एक पैदलयात्रीले गुनासो गरिन्।
स्थानीयवासी र सरोकारवालाहरूको भनाइमा, बजारभित्र सवारी सञ्चालनका लागि निश्चित ‘पिकअप’ र ‘ड्रप’ स्थान तोक्न सके समस्या केही हदसम्म समाधान हुन सक्छ। चोक तथा गल्लीभन्दा केही टाढा यस्ता स्थान निर्धारण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरूको सुझाव छ।
तर, नियम कार्यान्वयन गर्ने निकायको निष्क्रियताले समस्या झनै बढाएको आरोप छ। नगरप्रहरी नियमित रूपमा बजारमा खटिए पनि प्रभावकारी कारबाही नहुँदा व्यवसायी र चालकको मनोमानी नियन्त्रण बाहिर गएको देखिन्छ। बसपार्कबाट मात्र ठूला बस सञ्चालन गर्ने र दिनको समयमा मालवाहक सवारीलाई बजार प्रवेशमा रोक लगाउने जस्ता व्यवस्था कागजमै सीमित रहेको स्थानीय बताउँछन्।
यस परिस्थितिमा स्थानीय सरकार र सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्नुपर्ने माग उठिरहेको छ। लोड–अनलोडका लागि निश्चित समय निर्धारण गर्ने, वैकल्पिक स्थानको व्यवस्था गर्ने तथा नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने उपायहरू लागू नगरेसम्म धादिङबेसी बजारको अव्यवस्था नियन्त्रणमा आउन नसक्ने देखिन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |