

धादिङ । धादिङमा आगामी जेठ १३ गते देखी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।जनस्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा जेठ १३ गते देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो ।
आईतबार जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा भएको जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुसँगको अभिमुखिकरण कार्यक्रममा खोप अभियानबारे जानकारी गराईएको थियो ।
जिल्लास्तरीय खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला खोप समन्वय समितिका पदाधिकारी, बिभिन्न सञ्चार माध्यममा आवद्ध संचारकर्मी तथा सरोकारवालाहरु सहभागी थिए ।
जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो ।
झाका अनुसार पहिलो चरणमा १३ गते देखि १७ गतेसम्म धुनिबेसी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ, रुवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिकामा संचालन हुने छ ।
त्यस्तै दोस्रो चरणमा जेठ २० गते देखि २६ गतेसम्म निलकण्ठ नगरपालिका, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा संचालन हुनेछ ।
अभियानमा २०७३ साल बैशाखदेखी २०७५ असोज मसान्तसम्म जन्मेका बालबालिका (साढे ५ बर्षदेखी ८ बर्ष भित्रका) लाई खोप लगाईने झाले बताउनुभयो।उहाँका अनुसार जिल्लाको ४ सय ८० खोप केन्द्रबाट १२ हजार ७९० बालबालिकालाई खोप लगाईने छ ।
पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
के हो पोलियो रोग ?
पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मूत्यु समेत हुनसक्छ ।
लक्षण
ज्वरो आउने, रुघा–खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने र हात–खुट्टा दुख्ने जस्ता लक्षण तथा चिन्हहरु देखा पर्दछ । केही बालबालिकामा यसले अतिशीघ्र लुलो पक्षघात गराई अपाङ्ग पनि गराउँछ भने बालबालिकाको मूत्यु समेत हुनसक्छ।
पोलियो रोगको भाइरस निकै संक्रामक हुन्छ ।
रोगीको घाँटी तथा आन्द्रामा यो भाइरस रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । पोलियोको भाइरस दुषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरुमा सर्छ ।
जोखिममा पर्ने व्यक्तिहरु
जन्मेदेखि एक पटक पनि पोलियो खोप नलिएका वा पोलियो खोप पुरामात्रा नलिएका बालबालिका यस रोगका उच्च जोखिममा हुन्छन् । समुदायमा एकजना बच्चालाई पनि पोलियो रोग भएमा अरु बालबालिकालाई सर्ने सम्भावना हुन्छ । खोप कार्यक्रम संचालन भएतापनि खोेप सेवा राम्ररी उपभोग नभएका ठाँउका बालबालिका पनि यस रोगका जोखिममा पर्न सक्छन् ।
पोलियो रोगको उपचार
पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन । पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको खोप तालिका अनुसार पोलियो रोग बिरुद्ध खोप दिनु नै पर्ने हो ।
बालबालिकामा एफ.आई.पि.भी खोप सँगै पोलियो थोपा पनि दिनुपर्दछ । पोलियो थोपासँगै दिईने एफ.आई.पि.भी खोपले बालबालिकामा पोलियो रोग विरुद्ध लड्ने थप प्रतिरोधात्मक शक्ति वृद्धि भई यो रोगको भाइरस विरुद्ध लड्न थप शक्ति प्रदान गर्दछ ।
एकै पटक धेरै खोप लगाउँदा के हुन्छ ?
बालबालिकालाई एकै पटक तीन वा सो भन्दा धेरै खोप लगाउनु सुरक्षित मानिन्छ । बालबालिकालाई रोगहरु लाग्नबाट बचाउन एकै पटक धेरै प्रकारका खोपहरु दिन सकिन्छ । अन्य देशमा पनि एकै पटक धेरै खोप लगाउँदा बालबालिकामा कुनै प्रतिकुल असर देखिएको छैन ।
वास्तवमा शुरुका महिनामा बालबालिकालाई रोगहरु लाग्ने सम्भावना धेरै भएकोले ६, १० र १४ हप्तामा रोगहरु विरुद्ध धेरै खोपहरु दिने गरिन्छ । पोलियो विरुद्ध खोप नलिएमा बालबालिकालाई पोलियो रोग लाग्ने जोखिम बढी हुन्छ । पोलियो खोप नहुँदा हरेक वर्ष नेपालका हजारौ बालबालिकालाई पोलियो रोगका कारण अति शिघ्र लुलो पक्षघात हुने गर्दथ्यो ।
पोलियो विरुद्धका खोपका कारणले नै अहिले नेपालमा पोलियो रोग शुन्यमा रहेको छ । यस विरुद्ध खोप नलिएमा फेरि यो रोग देखिन सक्छ ।पोलियो वा अन्य खोपहरुका वारेमा थप जानकारी नजिकैको स्वास्थ्य संस्था वा खोप केन्द्रमा स्वास्थ्यकर्मीसँग प्राप्त जानकारी लिन सकिन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |