

धादिङ।सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालमा मेमोग्राम सेवा सुरु भएको छ ।
जिल्लामै पहिलो पटक स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सेवा आजदेखी सञ्चालन सुरु गरिएको हो।
उक्त सेवाको मंगलबार एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले उद्घाटन् गर्नुभएको हो । 
बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको एक करोड नौं लाख ६१ हजार मूल्य बराबरको मेसिन मंगलबार नै अस्पताललाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री थापा मगरले अस्पताल सुधार गर्ने सन्दर्भमा बागमती प्रदेश सरकारले धादिङ अस्पताललाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
मन्त्री मगरले अस्पताल आइपुगेका बिरामीहरुलाई मुस्कानसहितको सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
उहाँले भन्नुभयो,‘अस्पताल आइपुगेका बिरामीलाई मुस्कानसहित सेवा प्रदान गर्नका लागि तपाइहरुलाई केही गारो, साँघुरो, अप्ठ्यारो परेको छ भने मलाई भन्नुहोस्।’
स्वास्थ्यकर्मीले हप्कीदप्की लगाउँदा बिरामीको मानसिकतामा नकारात्मक असर पर्ने र गुनासो आउने भन्दै मन्त्री थापाले इमान्दारिताका साथ काम गर्न प्रदेशभित्रका सबै स्वास्थ्यसंस्थाका कर्मचारीलाई आग्रह गर्नुभयो ।
‘तपाई राम्रो गर्नुहोस्, राम्रो गर्दागर्दै कसैले तपाईको इमान्दारितामाथि औला उठाउँछ भने तपाईको पक्षमा म हुनेछु’, उहाँले भन्नुभयो ।

अनावश्यक मिडियाबाजी र कुरा काट्ने प्रवृत्तिले कुनैपनि सेवा सहज नहुने औल्याउँदै मन्त्री थापाले इमान्दारिताका साथ काम गरेर अस्पतालको सेवा सुधारमा सहयोग गर्न सबै स्वास्थ्यकर्मीहरुलाई अनुरोध पनि गर्नुभएको छ ।
प्रदेश भित्रका स्वास्थ्य संस्थाहरुको सुधारको लागि सूक्ष्म अध्ययन गरिरहेको बताउनुभएको छ । प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरि सेवामा सुधार ल्याउने जिकिर गर्नुभयो ।
’स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ’, अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले भन्नुभयो– ’रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर स्तनको चित्र लिन सकिन्छ ।’
स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाउनेछन् ।
धादिङमा सेवा सुरु भएसङ्गै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परिक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सय भन्दा बढी सेवाग्राहीले सेवा लिदै आएका छन् ।
मेमोग्राम के हो ? कसरी गरिन्छ ?
स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ ।
यो स्तन क्यान्सरको पहिचान गर्ने उपयुक्त विधि हो । रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर कम से कम दुई एंगलबाट स्तनको चित्र लिने गर्दछन्। नियमित चिकित्सकीय परीक्षणद्वारा स्तन क्यान्सरको सुरुवाती निदान गर्न मेमोग्राम अति नै आवश्यक हुन्छ।
कसरी गरिन्छ ?
१.मेमोग्राफी स्तनको एक्स–रे परीक्षण हो। यसमा कम शक्तिको एक्स–रे प्रयोग हुन्छ। एक्स–रे विकिरणको मात्रा कम हुने भएकाले विकिरण जोखिम पनि न्यून हुन्छ।
२.मेमोग्राफी स्तनका बिरामीका अलावा स्वस्थ निरोगी महिलाको नियमित स्वास्थ्य परीक्षण (स्क्रिनिङ)का लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।
३. स्तनमा गिर्खा वा पीडा महसुस गरेर पत्ता लगाउन नसकिने अवस्थाको स्तन क्यान्सरसमेत मेमोग्राफीमार्फत पत्ता लगाउन सकिने भएकाले स्तन क्यान्सरको समयमै निदान गरी उचित उपचारको लागि यो परीक्षण अत्यन्त महत्वपूर्ण छ।
४. स्तनमा डल्ला, गिर्खा, गाँठागुठी वा पीडा महसुस भएमा, स्तनको रंङमा परिवर्तन देखिएमा तुरुन्त सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनु पर्दछ।
५. ४० वर्ष उमेर कटेका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने भएकाले वर्षमा एकपटक नियमित मेमोग्राफी गराई मेमोग्राफीको तस्बिर र रिपोर्ट सुरक्षित जम्मा गरीराख्नु फाइदाजनक हुन्छ।
६. स्तन क्यान्सर तथा स्तनसम्बन्धी समस्याको पारिवारिक वा वंशाणुगत पृष्ठभूमि भएका महिलाले सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनु पर्दछ।
७. मेमोग्राफीमा एक्स–रे विकिरण प्रयोग हुने भएकाले सकेसम्म गर्भावस्थामा यो परीक्षण गराउनु हुँदैन। यो परीक्षण गराउँदा छातीका सम्पूर्ण कपडा तथा गरगहना निकाल्नुपर्ने हुँदा सजिलै खोल्न र लगाउन मिल्ने लुगा लगाएर जाँदा सहज हुन्छ।
८. पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ। आवश्यक परेमा पुरुषको पनि मेमोग्राफी गर्ने गरिन्छ।
हेर्नुहोस् सेवा शुभारम्भको भिडियो….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |