

धादिङ । सिद्धलेक गाउँपालिकामा पालिकाले करार सेवामा राखेको कर्मचारी गैरकानूनी र विधि विपरित भएको नागरिक समाजले आरोप लगाएको छ ।
नागरिक समाज सिद्धलेकका संयोजक मोहमद रकिम अन्सारीसहितको टोलीले पटक पटक गाउँपालिकामा पुगेर विधि विपरित कर्मचारी भर्ना नगर्न अनुरोध गरेपनि नमानेको र विधि मिचेर राखिएकोले मागेको सूचना समेत नदिएको नागरिक समाजको आरोप छ ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको निर्देशनमा कर्मचारी छनौट समितिमा प्रमुख प्रशासकिय अधिकृत बिनोदकुमार अधिकारी, अध्यक्षले तोकेको विषय विज्ञमा जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ छत्कुली र सम्बन्धित शाखाको प्रमुखमा शंकरबाबु दुवाडीलाई राखेर अन्तरवार्ता लिएर कर्मचारी छनौट गरिएको थियो ।
साउन २३ र २४ गते अहेव ४ जना, अनमी २ जना, ल्याब असिस्टेन्ट १ जना, अमिन १ जनाका लागि अन्तरवार्ता लिइएकोमा दुवाडीलाई पालिकाले साउन २३ गते नै कुम्पुर स्वास्थ्य चौकीमा काज फिर्ता गरेको व्यक्ति भएकोले शाखा प्रमुखको रुपमा रहन नसक्ने र यो अवैधानिक भएको अन्सारीको भनाइ छ ।
फर्जी अन्तरवार्ता लिएर कर्मचारी राखेको भन्दै यस सम्बन्धी सूचना माग गर्दा समेत सूचना माग गर्नेलाई नै सुरक्षाकर्मी लगाएर दिनभर घेराबन्दी गर्दै धम्की दिइएको समेत खुलेको छ ।
सूचना माग्न गएपछि राज्यले गोप्य राख्नु पर्छ भनेका सूचना बाहेकका सूचना दिनुपर्छ तर सिद्धलेक गाउँपालिकाले माग गरिएको सूचना नदिएर आफूहरुमाथी मानवअधिकार उल्लंघन गर्दै संविधान विपरित काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङमा पीडितहरुले ०८१ भदौ १२ गते उजुरी दिएका छन् ।
सिद्धलेक गाउँपालिका–५ का ५० वर्षीय मोहमद रकिम अन्सारी र सिद्धलेक गाउँपालिकाका–५२ वर्षीय रबिन्द्र सिलवाललाई पालिकामा सूचना माग्न गएको भन्दै भदौ ११ गते दिनभर नेपाल प्रहरी बोलाएर स्थान हद गरेर (प्रहरीले घेराबन्दी गरेर) राखेको भदौ १३ गते प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।
अहेव, अनमी, ल्याब असिस्टेन्ट, र अमिनको परिक्षाको विषयमा विवाद भएको र सो परिक्षाको निर्णय तथा परिक्षा लिने व्यक्तिहरुका बारेमा जानकारी पाउन गाउँपालिकामा साउन २७ गते पहिलो पटक सूचना माग गर्न उनीहरु दुई जनासहित ७ जना नागरिक समाजका व्यक्तिहरुले लिखित सूचना माग गरेका थिए ।
गाउँपालिकाको तर्फबाट त्यसदिन निमित्त प्रमुख प्रशासकिय अधिकृत भएका शिवराम अधिकारीले हस्ताक्षर गरि सूचना माग गर्नेहरुलाई साउन ३० गते प्रकृयामा रहेको परिक्षाको बारेमा सूचना दिन नमिल्ने भन्दै पत्र दिएको थियो ।
भदौ ११ गते प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा सूचना उपलब्ध गराउने भनेर बोलाएको र बिहान १० बजे कार्यालय पुगेपछि सुरक्षाकर्मी प्रयोग गरि दिनभर घेराबन्दी गरेर राखेकोले मानवअधिकारको उलल्लंघन भएको र संविधानले दिएको हक उपभोग गर्न नपाएकोले कारबाहीको माग गर्दै उजुरी गरिएको पीडित अन्सारीले बताउनुभएको छ ।
पालिका कर्मचारी लगाएर राती धम्कीपूर्ण फोन गरेको र दिउँसो समेत धम्की आएकोले आफूहरु असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डे समक्ष उजुरी परेको छ ।
पीडित पक्ष सूचना खोज्दै जिल्ला प्रशासन पुगेका छन् भने मानवअधिकार संरक्षणमा पहल गरिदिन इन्सेकलाई आग्रह गरेका छन् ।
विवादित व्यक्ति र पालिका आफैँले शाखा प्रमुखबाट स्वास्थ्य चौकी पठाएका व्यक्ति राखेर गरिएको अन्तरवार्ता कानूनी रुपमा मान्य नहुने सूचना माग गर्ने अधिकारीहरुले बताएका छन् ।
प्रकृया चलिरहँदा पनि कोको अन्तरवार्तामा बसेका थिए, किन उनलाई नै राखिएको हो सूचना मागेपछि दिनुपर्छ तर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नभएको दिन निमित्त प्रशासकिय अधिकृतले सूचना दिन नमिल्ने पत्र पठाउनुलाई नागरिक समाजले आपत्ति जनाएको छ ।
पालिकाले चिठिपूर्जी चलानी किताबमा समेत बिचबिचमा ठाउँ खाली राख्ने गरेको भेटिएको छ । पालिकाको आव ०८०।८१ को चिठिपूर्जी चलानी कितावको चनाली नम्बर १०१ खाली राखेर छाडिएको पाइएको हो ।

विभिन्न घटना र सूचना नदिएको सम्बन्धमा तत्कालिन निमित्त प्रमुख प्रशासकिय शिवराम अधिकारीले प्रकृयामा रहेको कर्मचारी छनौटको विषय सूचना दिन नमिल्ने भएर नदिएको बताउँदै सूचना माग गर्न आउनेलाई अन्य सबै सूचना दिएको दावी गर्नुभयो।
कार्यालयमा आएर कर्मचारीलाई धम्की दिएकाले उनीहरुबाट सुरक्षित रहनु पर्ने भएको समेत अधिकारीको भनाइ छ ।
पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी

गाउँपालिकाले दिएको पत्र






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |